काठमाडौंः महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीको बास्तविक नम्बर परिवर्तन गरी चोरीको मोटरसाइकल चलाउने एक जनालाई पक्राउ गरेको छ ।

पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले शुक्रबार बालाजु बाइसधारा स्थित सडक खण्डबाट नुवाकोटको तादी गाउँपालिका–६ बस्ने २८ वर्षीय अनिल तामाङ्गले बास्तविक नम्बर प्लेट परिवर्तन गरी बा ६५ प २३६६ नम्बर प्रयोग गरी चलाई रहेको अवस्थामा मोटरसाइकल सहित पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।

काठमाडौंको रामकोट स्थित सडक खण्डबाट बा ६३ प २६६ नम्बरको रातो रंङ्गको पल्सर मोटरसाइकल हराएको भनि रामेछापको खाँडादेवी गाउँपालिका–१ बस्ने कुल बहादुर श्रेष्ठले महाशाखामा निवेदन दिएका थिए ।


हराएको निबेदनको आधारमा सुचना संकलन र हुलियाको आधारमा खोजतलास गरि हराएको मोटरसाइकल र तामाङ्ग पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, स्वयम्भू पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

यस आ.व.०७७/०७८ मा चोरीमा संलग्न ३१ जना मानिस र १९ मोटरसाइकललाई पक्राउ गरी मुद्दा चलाउन विभिन्न प्रहरी इकाइमा पठाएको छ भने चोरी भई खोजतलास गरी ११७ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ ३ गते शनिबार, १२:४६