काठमाडौंः अर्थमन्त्रीले धितोपत्र कारोबारबारे आफ्नो अभिव्यक्ति दिएपछि कारोबारमा लामो समय नकारात्मक असर पर्न गयो । अर्थमन्त्रीले मैले धितोपत्र कारोबारका सम्बन्धमा नकारात्मक अभिव्यक्ति दिएको होइन, त्यसलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्छ भनको हुँ भन्दै अनेकौं पटक सफाइँ दिनुपरयो । वाम सरकार बनेपछि लामो समयसम्म घटेको धितोपत्र कारोबार सुस्त–सुस्त लयमा आउन थालेका बेला बजेट आएपछि पुनः प्रभावित बन्न पुगेको छ । सेयर कारोबारमा लाभकर लाग्ने भएपछि कारोबार प्रभावित हुन थालेको छ ।

आन्तरिक राजस्व विभागले बोनस सेयर र हकप्रद सेयरको लागत मूल्य गणना गर्दा सेयरको अंकित चुक्ता मूल्यलाई लागत मानेर कर असुली गर्न निर्देशन दिएपछि बजार ओरालो लाग्न थालेको छ ।


। यही पुँजीगत लाभकरका कारण सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार करिब ३४ अंकले घट्यो । उक्त दिन कारोबारमा आएकामध्ये उत्पादन तथा प्रशोधनबाहेक सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से ३३ दशमलव ७१ अंकले घट्न पुग्यो ।

अघिल्ला दिनहरूमा सामान्य अंकले घट–बढ भइरहेको सेयर बजार आइतबार करिब ३४ अंकले घट्नुको प्रमुख कारण सरकारको कर नीति रहेको सेयर कारोबारीले दाबी गरेका छन् ।

आन्तरिक राजस्व विभागले कर असुल्न निर्देशन दिएपछि लगानीकर्ता त्रसित भएको सेयर दलालले बताएका छन् । लगानीकर्ताले अब धेरै कर तिर्नुपर्नेमा त्रसित बनाएको बताएका छन् । आन्तरिक राजस्व विभागले शुक्रबार धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सीडीएस एन्ड क्लियरिङलाई पत्र पठाएर यस्तो कर असुल गर्न निर्देशन दिएको हो । यो निर्देशनपछि अब लगानीकर्ताले बोनस र हकप्रद सेयरमा पनि अंकित मूल्यका आधारमा अग्रिम कर बुझाउनुपर्ने भएको छ । यसअघि अर्थ मन्त्रालयको निर्देशनमा बोनस र हकप्रद सेयरको समायोजित मूल्यका आधारमा पुँजीगत लाभ कर काटिंदै आएको थियो ।

सरकारले बजेटमार्फत व्यक्तिगत लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरको सीमा साढे २ प्रतिशत विन्दुले बढाएको छ । संस्थागत लगानीकर्ताले तिर्ने लाभरको सीमा भने दस प्रतिशत नै कायम राखेको छ । अन्य लगानीकर्ता नामको नयाँ शीर्षक अनुसार त्यो समूहमा पर्ने लगानीकर्तालाई २५ प्रतिशतका दरले पुँजीगत लाभकर तोकेको छ । बजेटले व्यक्तिगत लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरको सीमा बढाएर अब साढे ७ प्रतिशत पुर्‍याएको छ । यसअघि व्यक्तिगत लगानीकर्ताले ५ प्रतिशतका दरले तिर्दै आएका थिए ।

नेपाल स्टक एक्सचेन्ज (नेप्सेका) प्रमुख कार्यकारी अधिकृतले भने धितोपत्रको कारोबारमा नाफा आर्जन गर्नेले मात्र कर तिर्नुपर्ने भएकाले सबै लगानीकर्ता आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गरेका छन् ।

नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा आइतबार साढे २ प्रतिशतले घट्यो । कारोबार रकम भने बढेको छ । आइतबार दिनभरको कारोबारमा ५४ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । १ सय ६५ कम्पनीका ९ लाख ५७ हजार ३ सय ३८ कित्ता सेयर किन–बेच हुँदा करिब साढे ५४ करोड रुपैयाँ परिचालन भएको हो ।

प्रायः लगानीकर्ताको आकर्षणमा रहेको बिमा समूहको परिसूचक ४ दशमलव २५ प्रतिशतले घटेको छ । जुन अन्य समूहको भन्दा बढी हो । होटल, लघुवित्त, बैकिङ, विकास बैंक, जलविद्युत् समूह लगानीकर्ताको आकर्षणमा परेका समूह हुन् । करको नयाँ प्रावधान आएपछि यी समूहको कारोबार पनि घट्न गएको छ । अन्य समूहको सेयर कारोबार पनि घटेको छ । जसले गर्दा सेयर बजारमा नकारात्मक असर देखिएको हो । आइतबार उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने १ दशमलव ५५ प्रतिशतले बढेको छ ।

सेयर कारोबार निरन्तर ओरालो लाग्दै गएका बेला सरकारले कर बढाउँदा साना लगानीकर्ता मारमा परेको सेयर कारेबारीको भनाइ छ । सरकारको यस्तो धितोपत्र कारोबारविरोधी कर नीतिका विरुद्ध आन्दोलनमा उत्रिने उनीहरूले बताएका छन् ।