भक्तपुर: शनिबार मध्यान्हमा बसले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका युवकको उपचारको क्रममा मुत्यु भएको छ । मध्यपुर ठिमीमा राधेराधेबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख २७२२ नम्बरको बसले निकोसेराबाट आउदै गरेको बा ४० प २०९४ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा घाइते भएका २४ वर्षे दिपक ख्याजुको उपचारको क्रममा मृत्यु भएको हो ।

घाईते भएका ख्याजुलाई तत्काल उपचारका लागि मध्यपुर ठिमी अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन सम्भव नभएपछि थप उपचारका लागि बि एण्ड बि अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलमा महानगरीय प्रहरी वृत्त ठिमीको प्रहरी टोली खटिएर प्रारम्भिक अनुसन्धान कार्य गरेको र ठक्कर दिने बसका चालक प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको  छ ।


बसका चालक सिन्धुपाल्चोक घर भइ हाल भक्तपुर च्यामासिंह बस्ने बर्ष २८ का दिपबहादुर प्रधानलाई महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा राखी थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।