काठमाडौंः नेपालको अद्यावधिक नक्सालाई नेपालको संविधानको अनुसुचीमा राख्ने ‘नेपालको संविधान संशोधन (दोस्रो संशोधन) विधेयक’ प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकले लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले पारित गरेको हो ।

बैठकमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका छन् । यससँगै संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे ।

संवैधानिक व्यवस्थाअनुसार संविधान संसोधन विधेयक पारित गर्दा मतदान प्रक्रियामार्फत् गर्नुपर्ने व्यवस्थाअनुसार मतदानबाट सर्वसम्मत पारित भएको हो ।


संसद बैठक सुरु भएपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले छलफल र पारित गर्नका लागि दुई छुट्टाछुट्टै प्रस्ताव पेश गरेकी थिइन् ।

सरकारले जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ९ गते नै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।


प्रकाशित मितिः शनिबार, जेठ ३१, २०७७, १८:१७