काठमाडौंः नेपालको अद्यावधिक नक्सालाई नेपालको संविधानको अनुसुचीमा राख्ने ‘नेपालको संविधान संशोधन (दोस्रो संशोधन) विधेयक’ राष्ट्रियसभाबाट सर्वसम्मतले पारित भएको छ ।

राष्ट्रियसभाको आजको बैठकले लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत रुपले पारित गरेको हो ।

आज भएको मतदानमा सभामा तत्काल कायम रहेको ५८ जनामध्ये ५७ जनाले मतदान गरेका थिए ।

मतदानमा राष्ट्रियसभाका ५८ सदस्यमध्ये आजको बैठकमा उपस्थित भएका सबै ५७ जना सांसदहरुले विधेयकको पक्षमा मतदान गरेका छन् ।


। ५९ सदस्यीय राष्ट्रियसभामा अहिले एक पद रिक्त रहेको छ ।

बैठकमा उपस्थित सबै सांसदहरुले विधेयकको पक्षमा मतदान गरेपछि सर्वसम्मत रुपमा पारित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले मतदान नगरेका कारण ५७ जना सांसदहरुले मतदान गरेका हुन् ।

आजको बैठकमा विधेयक माथि छलफलपछि कानून मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

प्रतिनिधिसभाले सर्वसम्मत रुपमा पारित गरेको सविधान संशोधन विधेयकमाथि राष्ट्रियसभामा मतदान भएको हो ।


प्रकाशित मितिः बिहीबार, असार ४, २०७७, १९:१४