प्रिय रचना, टाढैबाट भए पनि सुमधुर सम्झना,

भन्नैपर्ने धेरै थियो अधुरो नै रह्यो
धेरै माया गर्छु भन्थ्यौ विरानो नै भयो ।

यो मेरो पवित्र, निश्चल, निर्मल र कञ्चन दिलबाट मायाका असंख्य पुष्पगुच्छाहरुको उपहार नयाँ वर्षको उपलक्ष्यमा तिमीलाई । बगैंचाभरि फुलेका फूलहरुको सुवास तिमीलाई, मन्दिरभसरि गुञ्जिने मन्त्र अनि शंखघण्टको ध्वनिरुपी शान्तिको वचन तिमीलाई ।

के गर्नु रचना, समय र परिस्थितिले मानिसलाई कहाँबाट कहाँसम्म पुरयाउँदो रहेछ । गाउँकै भूमिमा उकाली ओराली गर्दै बाल्यकाल बित्यो । गाउँकै विद्यालयमा शिक्षा लिने मौका मिल्यो । परिवार, समाज र साथीभाइहरुको आर्शिवाद अनि माया मिल्यो ।


। उमेरसँगै उद्देश्यमा परिर्वतन र आकांक्षाले बाटो खोज्दा रहेछन् । फलस्वरुप राजधानीले आगमन गरयो ।

मेरा अनन्य दाजु शिव गौतमले काठमाडौंमा अध्ययनको सिलसिलामा लेख्नुभएको स्मरण पढेको थिएँ, शीर्षक थियो सोचेजस्तो छैन राजधानी, गरिबहरुका लागि होइन राजधानी । आज म ती दाजुले लेखेको स्मरणलाई मानसपटलमा खेलाइरहन्छु साँच्चै रहेछ, न सोचेजस्तो न खोजेजस्तो राजधानी । तिमीलाई मेरा विगतका पीडाहरु धेरै थाहा छ जहाँ तिमी र म समीपमा हुन्थ्यौ तिमीले मलाई सोध्ने गथ्यौ अनि म बेली विस्तार लगाउँथें त्यो त्रिभुवन विश्वविद्यालयको चौरमा । सबै फगत रहेछ रचना तिम्रो र मेरो समीपको त्यो क्षणिक आकर्षण ।

तिमी जसरी तुलना गर्ने गथ्र्यौ त्यो रहेनछ समाज र शिक्षित भैसकेको तिम्रो परिवार र तिमीभित्रको मानवता । यौवनको भोग अनि फूर्सदको शिकार गर्ने महाराजाहरुको आदशैको केही अंश तिमीमा पनि लिप्त रहेछ । हुन त तिमी महाराजाहरुको पेरिफेरीमा जन्म लिएकी मान्छे भएर पनि होला । दोष तिमीलाई मात्र छैन तिम्रो मामुले महाराजाको सेवामा प्राप्त गरेको पउपलब्धिलाई पनि छ । काठमाडौं सिंहदरबार नजिकको भव्य आलिसान भवन तिम्रो हजुरबुबालाई श्री ५ ले दि बक्सेको तिम्रै मुखबाट सुनेको हुँ । खुशी थियौ सम्पन्न थियौ तर जवानीको मानसिकतामा सन्तुलन ल्याइदिने मान्छेको कमी रहेछ र मसँग समीपमा आएकी रहिछौ, जोडिएकी रहिछौ ।

के नै बाँकी थियो र रचना, तिमी र मबीच सबै सबैथोक सकिएको थियो, खुलेको थियो जसरी शिशिर ऋतुमा रूखमा रहेका पातहरु कस्ता र कति हुन्छन् त्यसरी नै । कहिले चोभारका डाडाँ, कहिले वागद्वारको जंगल, पशुपतिको वनकाली, स्वयम्भुको डाडाँ कति हो कति । ती दिनहरु, त्यो व्यवहार अनि क्षणहरु । समीप र त्यो तिमीले ममाथि देखाएको आकर्षणले मभित्र पनि आमूल परिर्वतन नल्याएको पनि होइन । तिम्रै संगतले सहरीया परिवेशमा माझिने मौका पाएको थिएँ । सायद त्यो अवसर मिल्थ्यो कि मिल्दैनथ्यो सिटी सेन्टरमा फिल्म हेर्ने, महलहरुमा सपिङ गर्ने, ठमेल बजारमा रातभर रामाउने, हराउने आदि आदि…

समयले रोकेन हामीलाई बरु हामी नै समय भन्दा छिटो दौडिएका थियौ । जति छिटो हाम्रो सम्बन्धले गहिरा बनाउँदै थियो त्यति नै छिटो हाम्रो दूरी बढाउँदै थियो भन्ने कुरा न तिमीले सोच्यौ न मैले सोचे । क्याम्पसका दिन, बिदाका दिन, चाडपर्वका दिन सधैजसो तिमी र म सँगै रह्यौ, सँगै खायौ, सँगै रमायौं पनि । सम्झ त रचना, तिमीले बोलेका ती भावना अनि लक्षहरु साँच्चै नै आदर्शका थिए, जीवन जीउने आधार बनेका थिए ।

तिमीले नै चन्द्रगिरी घुम्ने भन्दै त्यो चैत्रको मसान्तको मध्यरातमा फोन गरेकी थियौ । तिमीले राखेका अपेक्षा र आकांक्षालाई मार्न नसकी हुन्छ भनेको थिएँ मैले । सायद त्यो रात नै तिम्रो र मेरा लागि अभिषाप रहेछ हाम्रो सम्बन्धलाई टाढा लैजाने रात रहेछ । नयाँ वर्षको आगमन भयो शुभकामना दिनेमा तिमी नै प्रथम भयौ र भन्यौ छिटो गर्नु है म घरबाट निस्कें…

कालीमाटी, कलंकी, थानकोट हुँदै चन्द्रगिरी केवलकारको डोरीमा झुन्डिँदै चन्द्रगिरी पहाड । पक्कै याद छ होला तिमीले केवलकारको डब्बाभित्र मलाई अँगालोमा बाँधेर भनेकी थियौ वसन्त, म तिमीलाई एकपल पनि छाड्दिन, तिमीबाट ठाढा रहन सक्दिन । सम्झ त चन्द्रगिरीको भालेश्वरसामू तिमीले बोलेका शब्द भनेकी थियौ । यो साल सदा सदाका लागि प्रमाणित जोडी भै बस्ने हो भनि ।

खै आज तिम्रा वाचा र कसम कहाँ गए, तिमी कहाँ गयौ र तिम्रो मन कस्तो भयो । सायद चन्द्रगिरीबाट ओर्लिदा तिमीले ऊ हेरिसियो त मेरो मामुको साथीको छोरा भन्दै मेरो हातबाट हात फुस्काएर तर्केकी थियौ । आज उसकै छातीलाई आफ्नो शिर ठ्याउने ठाउँ बनाएर खिचेको फोटो फेसबुकका भित्तामा देखेर सम्झना आयो अघिल्लो वर्षको मेरो नयाँ वर्ष ।

उसँग तिम्रो औकात, रहनसहन, पारिवारिक सम्बन्ध मिल्यो होला तर तिम्रो चरित्रको अश्लीता मिल्न सकेन । हुनत तिमी र मबीचको सम्बन्ध तिम्रो अर्थमा जवानीको जोश, यौवनको प्यास र सुरक्षामा साथ भएर होला तर मेरो वबल्कुल त्यस्तो थिएन केवल निश्चल थियो पवित्र थियो । जहाँ जस्तो अवस्थामा छौ तिम्रो मामुको साथीको छोरासँग त्यसमै रमाएकी छौ होला ।

तिम्रो त्यो खुशीलाई पटक्कै हस्तक्षेप गर्दिन तर यति मात्र हो हिजो नया वर्षकै दिन तिम्रो फेसबुक सर्च गर्दा फोटो देखें याद आयो र विगत लेख्ने कोसिस गरें अनि विश्लेषण गरे, औकातभन्दा माथि र क्षमताभन्दा बढी भार बोक्न खोज्यो भने सएक दिन अवश्य त्यसले थेग्न नसक्दो रहेछ, नबोक्दो रहेछ ।

सदा सुखी रहनु, व्यस्त रहनु २०७५ सालको शुभकामना रचना तिमीलमई सधै सधै…

– सुदर्शन आचार्य