काठमाडौंः नयाँ अंग्रेजी पात्रो अनुसार आजदेखि सन् २०२१ सुरु भएको छ ।

ग्रेगोरीयन पात्रोअनुसार शुक्रबारदेखि नयाँ वर्ष इस्वी सन् २०२१ सुरु भएको हो ।

सन् २०२० को अन्तिम दिन डिसेम्बर ३१ तारिख अर्थात् गएराती १२ बजेको समाप्तिसँगै सन् २०२० को औपचारिक बिदाई भई नयाँ वर्ष २०२१ सुरु भएको हो ।

इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।

नयाँ वर्ष मनाउन काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरुमा मानिसहरु भेला भएका छन् । ती स्थानका होटलहरु भरिभराउ छन् ।यो सम्वत् प्रचलनमा रहेका देशहरुमा धूमधामका साथ नयाँ वर्षको स्वागत गरिएको छ ।


। नेपालमा पनि विभिन्न कार्यक्रम गरी नयाँ वर्षको स्वागत गरिएको छ ।

यस अवसरमा शुभकामना आदानप्रदान गर्ने चलन छ । नयाँ वर्षको अवसरमा पर्यटकीय स्थलहरुमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सडक महोत्सव गर्ने चलन छ । महोत्सवमा पर्यटकलाई खाने, बस्ने, घुम्ने कार्यक्रममा सहुलियत दिएर उनीहरुलाई आकर्षित गर्ने गरिन्छ ।

इस्वी संवतको नयाँ वर्षको अवसरमा विगतमा नेपालमा शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु हुन्थे । तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण भीडभाड हुने कार्यक्रमहरु आयोजना गरिएका छैनन् ।

विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।


प्रकाशित मितिः २०७७ साल पुस १७ गते शुक्रबार, ११:५४