काठमाडौंः संसद् अधिवेशन सुरु भएसँगै संसद्मा नयाँ सभामुख चयन प्रक्रियाको चहलपहल बढेको छ । पहिलो बैठकबाटै नयाँ सभामुख निर्वाचन गर्ने मिति तय गर्नेगरी अनौपचारिक छलफल सुरु हुन थालेका छन् ।

सभामुखको उमेदवार कसलाई बनाउने विषयमा पनि सत्तापक्ष र प्रतिपक्षपार्टीमा अनौपचारिक छलफल सुरु भएको छ । नेकपाले सभामुख आफूले लिने भए पनि पार्टीबाट कसलाई उठाउने भन्ने औपचारिक निर्णय गरेको छैन । पार्टी स्रोतले भन्यो, ‘दुई दिनपछि केही हुनसक्छ ।’ प्रमुख कांग्रेसले बिहीबार केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीले सभामुख र उपसभामुखमा उम्मेदवारी दिने कि नदिने निर्णय गर्नेछ ।


सभामुख र उपसभामुखका सम्भावित उमेदवार शक्ति केन्द्रमा धाउन थालेका छन् । नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ पनि सक्रिय देखिएका छन् तर पनि उनले उमेदवार हुने नहुने विषयमा केही बताउँन चाहदैनन् ।

नेकपाका देव गुरुङ, अग्नि सापकोटा, हरिबोल गजुरेल, पम्फा भूषाल तथा उपसभामुख शिवमाया तुम्बाहाम्फेको पनि सक्रियता बढेको स्रोतले बतायो । उपसभामुख तुम्बाहाम्फेसँग सरकारको तर्फबाट कुनै मन्त्री भेट गर्न आएका छैनन् । उनी यतिबेला पर्ख र हेरको अवस्थामा छिन् । उनले आफूलाई पार्टी नेतृत्वले अहिलेसम्म कुनै छलफल नगरेको दुखेसो पोख्न थालेकी छन् । पार्टीले राजिनामा दिन भनेमा उनले राजिनामा दिने मनस्थिती बनाएकी छन् तर आफ्नो अपमान हुने गरी पद छोडन उनले चाहेकी छैनन् । उनले आफैलाई सभामुख बनाउन आफ्ना निकट नेतासँग छलफल गरेकी छन् । तर, सभामुख आफूलाई बनाउछन् भन्ने विश्वासमा भने उनी देखिएकी छैनन् । उनले पाए सभामुख बन्ने नपाए संसद्को पहिलो बैठक आफैंले सञ्चालन गर्न पाए हुन्थ्यो भन्ने चाहना गरेकी छन् । सभामुखको आफैं उम्मेदवार बन्ने हो भने पनि उनले उपसभामुखबाट राजीनमा दिनुपर्ने हुन्छ । उपसभामुखको राजिनामा विना नेकपाले सभामुखको उम्मेदवारी दिन पाउने छैन । संविधानको धारा ९१ (२) ले सभामुख पुरुष भए उपसभामुख महिला, सभामुख जुन पार्टीको छ उपसभामुख फरक दलको हुनुपर्छ भन्ने व्यवस्था गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।


प्रकाशित मितिः बिहीबार, मंसिर २६, ०७:३२