नवलपरासीः नवलपरासीको बुलिङटार गाउँपालिका–६, स्थित निरन्दीखोलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नवलपरासी देवचुली नगरपालिका–४ का २७ वर्षीय हरि अधिकारी क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय डेढगाउँका अनुसार शुक्रबार साँझ पाल्पाको रामपुरबाट नवलपरासीको दलदले जाँदै गरेको ग १ ज ६५०५ नम्बरको जीप दुर्घटना हुँदा गम्भीर घाइते भएका क्षेत्रीको उपचारको क्रममा पोखरा मनिपाल कलेजमा मृत्यु भएको हो ।

यस्तै, दुर्घटनामा परी देवचुली–१० का २७ वर्षीय आशिष खनाल, सोही ठाउँका १९ वर्षीय सूचना पाण्डे, देवचुली–१ का ३० वर्षीय पवन तिवारी र २४ वर्षीया संगीता पोख्रेल घाइते भएका छन् ।


। घाइते चारै जनाको नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।

करीब १७ जना चढेको जीपले निरन्दीखोलाको उकालोमा तान्न नसकेपछि दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

 


प्रकाशित मितिः शनिबार, असोज २५, ०९:३२