काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सकारात्मक भएपनि भ्रमणबाट कुनै उपलब्धि नभएको बताएका छन् ।

आईतबार रिपोर्टर्स क्लबमा बोल्दै नेता महतले भ्रमणको क्रममा चीनसँग भएका सम्झौताहरुलाई आफूहरुले सकारात्मक लिएको तर जसरी प्रचार गरिएको छ त्यस्तो चाहि नभएको बताएका हुन् । चीनसँग आर्थिक सम्बन्ध विकसित गर्नु राम्रो कुरा रहेको भन्दै उनले भ्रमणले धेरै राम्रो संकेत गरेको र प्रधानमन्त्रीमा वहाली भएपछि चीन वा भारत भ्रमणमा जाने कुरा त परम्परा नै भएको बताए ।

डा. महतले प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा भएका सम्झौताको संयुक्त विज्ञप्ती हेर्दा धेरै विषयहरु समेटिएको तर नाकाहरु खोल्ने तथा पूर्वाधार विकास गर्ने भन्ने कुरा नौला कुरा नभएको यी कुरा त राजा महेन्द्रको पालामा र कांग्रेसको पालामा पनि भएको बताए ।


चीनको ओविआर अवधारणमामा तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला सन् २०१४ को अगष्टमा चीन भ्रमणमा जाँदा नै मौखिक सहमति जनाएको उल्लेख गर्दै नेता महतले भने,‘ओविआरमात्रै होईन, एशियाली पूर्वाधार विकास बैंकको नेपाल त संस्थापक सदस्य हो, मेरै प्रस्तावमा यो अघि बढेको हो, म चीन गएको बेला यसमा हस्ताक्षर गरेको थिएँ।’

अहिले प्रधानमन्त्री ओलीले चीन भ्रमणको क्रममा यी लगायतका विषयमा गरेको सम्झौताले थप आयाम थपेको बताउँदै भने, यो अत्यन्तै सकारात्मक छ।’ यद्धपी उनले भ्रमणको दौरान चिनियाँ पक्षसँग भएका कतिपय द्धिपक्षीय सम्झौता ९एमओयू० भएको पनि खुशी व्यक्त गरे । तर ती सम्झौताहरु द्रुत गतिमा कार्यान्वयनमा जानुपर्नेमा उनको जोड छ ।

त्यस्तै महतले प्रधानमन्त्री ओलीको भ्रमणसँगै अहिले रेलको पनि चर्चा व्यापक भैरहेको बताउँदै रेल कहिले आउने हो भन्नेमा सरकारका मन्त्रीहरुको भनाई नै विरोधाषापूर्ण रहेको आरोप लगाए । उनले भने,‘वर्तमानका सरकारका मन्त्रीले कहिले २ वर्षमा नै चीनबाट रेल आउँछ भन्नुहुन्छ, कहिले ५ वर्ष भन्नुहुन्थ्यो, अहिले फेरि ७ वर्षको चर्चा छ, रेल आउने कुरा रोमाञ्चक कुरा हो, आए त राम्रो हुन्छ ।’

नेता महतले अघि भने,‘चीन भ्रमणका क्रममा विभिन्न १४ वटा सम्झौताहरु भएका छन्, यी सम्झौताहरु हुँदैमा कार्यान्वयन हुन्छ भन्ने कुनै निश्चित् छैन, जस्तो चीनको थ्रि–गर्जेज कम्पनीले बनाएको भनिएको पश्चिम सेती जलविद्युत परियोजनाबाट अहिले उसले हात झिकेको कुरा आएको छ, त्यसैले एमओयू हुँदैमा कुनै तमाशा हुँदैन्, सम्झौताहरु कार्यान्वयनको लागि फलो–अप–एक्शनमा जानुपर्छ।’

प्रधानमन्त्री ओलीले चीन भ्रमणमा गरेका सम्झौताहरुको शब्द र शर्तका वास्तविकता भविष्यमा थाहा हुनसक्ने बताउँदै भने,‘कतिपय सम्झौताहरु अस्पष्ट छन्, कतिपय भने विगतमा नै भैसकेका छन्।’ सिमामा मितेरी पुल निर्माण गर्ने, नुवाकोटको सात तले दरबार र काठमाडौंको हनुमानढोकाको ९ तले दरबारको पूर्ननिर्माण गर्ने लगायतका केही सम्झौताहरु यसअघि नै भैसकेको महतको जिकिर छ ।

उनले चीनसँगमात्रै नभएर भारतबाट रेल ल्याउँदापनि अनुदानमै ल्याउनुपर्नेमा जोड दिए ।