भक्तपुरः नागरिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १४ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश ३ का सांसद रजनी जोन्छेंले सहकारीले आर्थिक अवस्था कमजोर भएका नागरिकहरुको जीवनस्तर रुपान्तरणमा ठूलो भूमिका खेलेको बताइन् ।

उनले सहकारी क्षेत्रमा देखिएको विकृति तथा विसंगति अन्त्य गर्न सबै लाग्नुपर्नेमा जोड दिदै धेरै ब्याज दिने नाममा आफ्ना संस्थामा सदस्य तान्ने होडबाजी चलेको भन्दै उनीहरुको लोभ लालचमा नफसी सचेत हुनुपर्ने बताइन् ।

उनले सरकारले लिएको सुखी नेपाली, समृद्ध नेपाल निर्माणको अभियानमा सहकारीहरुले इँटा थप्ने कार्य गरेको बताइन् ।


प्रदेश ३ का अर्का सांसद कृष्णलाल भडेलले अर्थतन्त्रको तीन खम्बामध्ये एक रहेको सहकारीलाई दिगो र मजवुद बनाई राख्न जरुरी रहेको बताउँदै बैंक तथा वित्तिय संस्थाहरु समेत पुग्न नसकेको क्षेत्रहरुमा सहकारीको पहुँच पुगेको बताए ।

उनले सहकारी अभियानले साँस्कृतिक सम्पदा र संस्कृतिको जर्गेना गर्ने कार्यमा पनि टेवा पुर्‍याएको बताए ।

उनले नागरिक र समाजको रुपान्तरण गर्नु आजको आवश्यकता हो भन्दै यसको लागि बहुउद्देश्यीय सहकारीहरुले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

संस्थाका अध्यक्ष देवलाल किसीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा संस्थाको शेयर पूँजी १ करोड ९३ लाख २८ हजार, बचत २५ करोड ९२ लाख ८३ हजार र कर्जा लगानी २१ करोड ८५ लाख ३४ हजार रहेको छ । संस्थाका उपाध्यक्ष बिदुरमान सिंह बस्नेतले स्वागत मन्तव्य र संस्थाका सचिव केदार कोइरालाले कार्यक्रम सञ्चालन गरेका थिए ।

साधारणसभाले देवलाल किसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाका उपाध्यक्षमा बिदुरमान सिंह बस्नेत, सचिवमा केदार कोइराला, कोषाध्यक्षमा माधव थापा, सदस्यहरुमा न्हुच्छे खाइतु, नरेन्द्र बहादुर कार्की, पुरुषोत्तम शिल्पकार, सूर्यबहादुर खाइतु र रजनी के.सी.मानन्धर चयन भएका छन् ।

कार्यक्रममा जेष्ठ सदस्य पुरुषतर्फ रामबहादुर राउत र चित्रध्वज खड्का, महिलातर्फ राजमाया तचामा र गणेशमाया सायजु, असल ऋणी पुरुषतर्फ पदमबहादुर राजथला र महिलातर्फ छलिमाया तामाङ, असल बचतकर्ता पुरुषतर्फ रामेश्वर कोजु, दिपसन राई र महिलातर्फ सीता लक्ष्मी प्रजापति र मेनुका राजथलालाई सम्मान गर्नुको साथै साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।


प्रकाशित मितिः आइतबार, पुस ६, १५:५०