सिरहाः वडाध्यक्षको सिफारिसमा पहिचान फेरेर दुई जनाले नागरिकता लिएको खुलेको समाचार आजको नागरिकले दोस्रो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, जिल्लाको औरही गाउँपालिका–५ का अध्यक्ष दिलीप यादवको सिफारिसमा महेन्द्र मुखिया र राजेन्द्र मुखिया (फेरिएको नाम) ले जिल्ला प्रशासन कार्यालय सिरहाबाट नागरिकता लिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय सिरहामा महेन्द्र र राजेन्द्रले झुटो विवरणका आधारमा नागरिकता लिएको उजुरी परेको थियो। त्यसपछि गत असोज ८ गते जिल्ला प्रशासन कार्यालय सिरहाले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गर्‍यो । प्रशासनको चलानी नम्बर २५८१ को परिपत्रमार्फत प्रहरीले अनुसन्धान गर्दा महेन्द्र र राजेन्द्रले असली पहिचान फेरेर नागरिकता लिएको खुलेको हो ।


महेन्द्रको असली नाम अरुण मुखिया र राजेन्द्रको असली नाम मनीष मुखिया रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुको घर सिरहा नगरपालिका–२१ मा छ । दुवै दाजुभाइ भएको पनि अनुसन्धानबाट खुलेको छ । उनीहरुका बुवा विष्णु मुखिया र आमा जागोदेवी मुखिया हुन् । जागोदेवीको माइती औरही–५ मा पर्छ । जागोदेवीका बुवाको नाम दुखी मुखिया र आमाको नाम शिवरानी मुखिया हो ।


प्रकाशित मितिः शनिबार, कार्तिक २३, ०७:२४