चितवनः नारायणगढ-मुग्लिङ सडकखण्डको चारकिलो भन्ने ठाउँको टोपो खोलामा आज बिहान खसेको पहिरो हटाएपछि सडक खुलेको छ ।

भारी वर्षाका कारण बिहान करिब ४ बजे तिर खसेको पहिरो पन्छाउने काम भर्खरै सम्पन्न भएको छ । यातायात सुचारु गरिएको तर ११ घण्टासम्म भएको बन्दका कारण धेरै संख्यामा यातायात रोकिएकाले जाम रहेको असई इन्द्र बहादुर घिसिङले जनाएका छन् ।

पुरै डाँडो खसेकाले पहिरो पन्छाउन दिनभरजसो लागेको थियो । सडक अवरुद्ध भएसँगै सयौं सवारी र हजारौँ यात्रु बाटोमै अलपत्र परेका थिए ।

सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो एउटा सडक खण्ड हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुइँ कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिम पूर्ण रहेको छ ।


दुई दिनयता पानी परेसँगै सो सडकमा ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको छ जसका कारण यात्रु समयमा गन्तव्यमा पुग्न सकेका छैनन् ।