चितवनः नारायणगढ-मुग्लिन सडकखण्डको विभिन्न स्थानहरुमा पहिरो खसेपछि आज बिहान २ः४५ बजेबाट सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सो सडकखण्डको चारकिलो, चोरखोला, कालीखोला लगाएतका स्थानहरुमा पहिरो खसेको छ । चारकिलोमा पहिरो खसिरहेको र केही ठूलो भएकाले पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ ।

जतिसक्दो छिटो पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी भइरहेको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ ।

सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुइँ कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिम पूर्ण रहेको छ ।

पहिरोको कारण रातिदेखि नै सवारी साधन ठप्प छन् ।