काठमाडौं: नारायणगढ–मुग्लिन सडकखण्डको तीनमध्ये एक खण्डको काम सम्पन्न भएको छ । पाँचौँ पटक थपिएको मिति आज सम्पन्न भएपनि बाँकी दुई खण्डको काम भने सकिएको छैन ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो सडकको दासढुंगाबाट सिमलतालसम्मको १०.७ किलोमिटर सडक सम्पन्न भएको ठेकेदार कम्पनीले आयोजनालाई जानकारी गराएको हो। सो सडकको काम हाल सम्पन्न भए पनि एक वर्षसम्म भत्के बिग्रिएमा हेर्नुपर्ने भएकाले बजेटको हिसाबले शतप्रतिशत सम्पन्न भएको देखिँदैन ।

खनालका अनुसार आँपटारीदेखि दासढुंगासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ ।


। यसमध्ये बीचको खण्ड उडहिल लामा जेभीले काम सम्पन्न गरेको हो । उसले ९७ प्रतिशत काम सम्पन्न गरेको छ भने पहिलो खण्ड बिएलए श्रेष्ठ जेभीले ८९.६ प्रतिशत र तेस्रो खण्ड सुप्रिम रौताहा जेभीले ८४ प्रतिशत काम सम्पन्न गरेका छन् । समग्रमा ८९.८ प्रतिशत काम सम्पन्न भएको खनालले बताएका छन् ।

सो सडकको पाँचौँ पटक थप गरिएको मिति पहिलो खण्डको मे १०, दोस्रो खण्डको मे २० र तेस्रो खण्डको मे ३० मा सम्पन्न भएको छ । पुनः मिति थपका लागि तीनवटै कम्पनीले परामर्शदाता कम्पनीलाई आग्रह गरिसकेका छन् । हाल सो सडकको ४५० मिटरबाहेक अन्यत्र एक तह र कतिपय तेस्रो तहको कालोपत्रको काम सम्पन्न भएको छ ।

सो सडक आयोजनाका परामर्शदाता कम्पनीका आवासीय इञ्जिनियर पुष्कर रेग्मीका अनुसार तेस्रो खण्डको चेपाङ डाँडामा आज साँझसम्ममा भित्तो काट्ने काम सकिन्छ भने दुई दिनमा कालोपत्रको पहिलो तह सम्पन्न हुने बताउनुभयो । तेस्रो खण्डकै एङ्कर वाल उठाउने काम बाँकी रहेकाले झण्डै तीन हप्ता सो कामका लागि समय लाग्ने अनुमान गरिएको छ । सो सडक हेर्दैआएका प्रविधिज्ञले असार मसान्तसम्ममा अन्य दुई खण्ड पनि सम्पन्न हुने अनुमान गरेका छन् । चाँडै वर्षात् भएकाले काममा केही ढिलाइ भएको जनाइएको छ ।