भरतपुरः प्रदेश ३ सरकारको प्रत्यक्ष सहयोगमा नारायणी नदीमा क्रुज (पानीजहाज) सञ्चालन गर्ने तयारी भइरहेका बेला निजी क्षेत्रले नारायणी नदीमै छुट्टै मिनी क्रुज (सानो पानीजहाज) सञ्चालन गरेको समाचार आजको गोरखापत्रले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, रंगमहल रिभर ल्यान्ड प्रा.लि.ले मिनी क्रुज सञ्चालनमा ल्याएको हो ।

यसको औपचारिक सुरुआत भने दशैंको फूलपातीबाट गरिने प्रा.लि.का अध्यक्ष रमन भट्टराईले जानकारी दिए । “हामीले अहिले टेस्ट ड्राइभ सुरु गरेका हौं । यसलाई औपचारिक रुपमा फूलपातीबाट सुरु गर्नेछौं,” भट्टराईले भने । मिनी क्रुज झट्ट हेर्दा सानो पानीजहाजकै स्वरुपमा छ ।


। यसलाई स्थानीय पानीजहाजकै नामले चिन्दछन् । मिनी क्रुज पहिलोपटक आइतबार मात्रै नारायणी नदीमा टेस्ट ड्राइभ गरिएको हो । यसको सोमबार पनि टेस्ट ड्राइभ जारी थियो । “अहिले हामी २० जना यात्रु राखेर यसलाई चलाउन सक्नेछौं,” अध्यक्ष भट्टराईले भने ।

मिनी क्रुजसँगै प्रा.लि.ले दुईवटा जेट स्किम, दुईवटा रिभरबोट र एउटा बनानाबोट पनि सञ्चालनमा ल्याएको छ । यसका लागि प्रा.लि.ले करिब साढे तीन करोड रुपैयाँ लगानी गरेको जनाएको छ । रंगमहल रिभर ल्यान्ड प्रा.लि. कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको संस्था हो भने यसले नारायणी नदीमा मिनी क्रुज चलाउन वातवरण मन्त्रालयबाट ईआईए पास गराएको छ भने पर्यटन मन्त्रालय र भरतपुर महानगरपालिकाबाट सञ्चालनको अनुमति लिएको छ ।

 


प्रकाशित मितिः मंगलबार, असोज १४, ०६:२४