संस्कृति कुनै पनि राष्ट्रको परिचायक मात्र नभई विशेषता पनि हो । वैदिक सनातन धर्म तथा परम्पारगत सभ्यता नै हिन्दु संस्कृति हो । हिन्दु संस्कृतिको मूल आधार वेद हो भने स्मृति, पुराण, उपनिषद्हरु वैदिक सनातन धर्म तथा संस्कृतिका खम्बा हुन् । हिन्दुत्वलाई आत्मसात गरेको धर्मशास्त्रमा उल्लेख गरिएका नारीजन्य परिचायकहरु जस्तै– माता, कन्या, पुत्री, वधू, पत्नी, स्वश्रू आदि सबैको एउटै मूल चिनारी भनेको शब्दै हो । नारी शब्दले माथि उल्लेखित सम्पूर्ण नाताहरुलाई सम्बोधन गर्दछ । मानव समाजको बाह्य संरचनालाई सभ्यता भनिन्छ भने आन्तरिक संरचना संस्कृति हो । प्राचीन हिन्दू धार्मिक समाज एवं संस्कृतिमा नारी जातिको मर्यादा र महत्वको जानकारी हुनु अत्यन्त आवश्यक छ ।


। संस्कृत भाषाबाट आगमन भएको नारी शब्दको व्युत्पत्ति ‘नृ’ शब्ददेखि स्त्रीत्व आशयमा ङीन् प्रत्ययसँगै वृद्धि गरेर सिद्धि भएपश्चात् मात्र हुन्छ । संस्कृतमा ‘नुः नरस्य वा धर्म आचारो अस्याः, भन्ने विग्रहबाट नारी शब्दको निर्माण हुन्छ । नरको धर्म वा आचार भएकी स्त्री नै नारी हुन् संस्कृतको अर्थमा । यस सन्दर्भ नारी शब्दको अर्थानुसार ‘एक ठाउँबाट अर्को ठाउँमा पुग्नु’ भन्ने हुन्छ । तर शब्दको स्त्रीलिङ्गी रूप नै नारी भएकाले नर र नारीको अर्थ एउटै हुन्छ । नर÷नारीको अर्थ एक ठाउँबाट अर्को ठाउँमा पुग्ने हो । जस्तोः असत्यबाट सत्यतर्फ, अज्ञानबाट ज्ञानतर्फ, दुःखबाट सुखतर्फ, मरणशीलताबाट अमरतातर्फ, विनाशबाट विकास तर्फ पु¥याउने चेतना हो । नर/नारी शब्दको अर्थ स्वजीवनमा आत्मतत्वको तोरणरूपी ज्ञानद्वारा परब्रम्ह सच्चिदानन्दररूप परमेश्वरलाई प्राप्त गर्नु र आफूभन्दा अगाडिका अग्रज, पूर्वजनहरुलाई मोक्षको कामनासहित उत्तम गतिमा लैजानु भन्ने पनि अर्थ हुन्छ ।

सृष्टिको प्रारम्भमा ब्रह्माजीले अरु विभिन्न प्राणीहरुको सृष्टि गरेपछि तिनमा सच्चिदानन्दस्वरुप परमेश्वरलाई प्राप्त गर्ने चेतना र सामथ्र्य नदेखेर अन्त्यमा मनुष्य जातिको सृष्टि गरेपछि प्रसन्नता र सन्तुष्टि लिएको कुरा पनि श्रीमद्भागवत आदि धर्म ग्रन्थहरुमा वर्णन गरिएको पाइन्छ । हिन्दुसंस्कृति एवं समाजमा नारीको स्थान कत्तिको महत्वपूर्ण छ भन्ने कुरा हामीहरुले हाम्रो हिन्दु समाज हेरेर, बुझेर नै ज्ञान आर्जन गर्न सक्छौं । यो सारा संसारको सृष्टि गर्ने सामथ्र्य र विनाश गर्ने सामथ्र्य पनि नारी शक्तिमा रहेको छ । गुणी मान्छेलाई आश्रय दिने, हृदयभरि गुणले ओतप्रोत भएकी त्यस्ती देवीलाई म नमस्कार गर्दछु भन्दै स्वयं ऋषिहरुले समेत जगज्जननी दुर्गाको स्तुति गरेको पाइन्छ । सर्वप्रथम सृष्टिको प्रारम्भ ब्रह्माजीबाट भएको र त्यसबेलादेखि नै देवाताहरुले नारी स्वरूपकी देवीलाई शक्तिको रूपमा सम्मान, आदर गरेको मात्र नभई सम्पूर्ण जगतकी आमा एवम् यो विश्व ब्रह्माण्डकै जननीका रूपमा अलौकिक ईश्वरीय शक्तिधात्री भनेरसमेत मानेका छन् । हिन्दु संस्कृतिमा पत्नी हुनका निम्ति विवाह गर्नैपर्दछ । हिन्दू विवाह पद्धतिमा पाणिग्रहण कार्य सम्पन्न भएपछि मात्र विवाह भएको मानिन्छ । विवाहको मण्डपमा पनि सिन्दूरार्पणपश्चात् सप्तपदि कर्म गरिन्छ । तत्पश्चात् स्थान साटासाट गरेपछि मात्र पत्नी भन्न पाइन्छ । सिन्दूरार्पण भन्दा अघि वधूकै रूपमा हुन्छिन् भने त्यसपछि मात्र उनी पत्नी बन्दछिन् भन्ने सनातन शास्त्रीय मान्यता रहेको छ ।

पत्नी शब्द पति शब्दकै स्त्रीलिङ्गी रूप हो । त्यसैले गृहपतिभन्दा घरको मालिक भन्ने बोध हुन्छ । पत्नीलाई हिन्दु संस्कृतिमा भार्या, जाया, सहधर्मिणी, गृहिणी इत्यादि धेरै शब्दहरुले आदर गरिन्छ । स्त्रीका विभिन्न स्वररूपहरुमध्ये पत्नीको स्वरूप एक उच्च प्रियतम एवं आदर्शमय मानिन्छ । एउटी नारी छोरी, दिदी, बहिनी, श्रीमती, बुहारी, आमा आदि स्वरूपबाट चिनिन्छिन् । वेदमा धेरै स्थानमा पत्नीको प्रसङ्ग पाइन्छ । त्यहाँ पतिलाई पत्नीको इच्छा गर्ने र पत्नीलाई पतिको इच्छा गर्ने परस्पर अनुरागीका रूपमा पनि उल्लेख गरिएको छ । पति र पत्नीको आत्मीय मेलबाट नै आर्दश घर बन्न सक्दछ । पति र पत्नी बीचको आत्मीय सद्भावनाले मात्र सुन्दर र रमणीय गृहसंसारको निर्माण हुन्छ । सनातन धर्ममा मानव जीवनलाई ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास गरी चार आश्रममा विभाजन गरिएको छ । यी चार आश्रममध्ये गृहस्थाश्रम सबै आश्रमको आश्रय रहनुका साथै मानव जीवनसँग सम्बन्धित अन्य प्राणीहरुको पनि आश्रयस्थल हो । गृस्थाश्रम यस्तो आश्रम हो जसको अभावमा संसारको कल्पना पनि हुन सक्दैन । ब्रह्मचर्य आश्रममा शारीरिक एवं मानसिक रूपले परिपक्क भएपछि गृहस्थाश्रममा जान इच्छुक व्यक्ति गृहस्थाश्रममा प्रवेश गर्न सक्दछ । गृहस्थाश्रममा प्रवेश गर्नु भनेको नै विवाह गर्नु हो । चारवटा आश्रम मध्ये सर्वश्रेष्ठ आश्रम गृहस्थाश्रम नै हो ।

अन्य आश्रमहरुमा सहयात्रीको आवश्यकता पर्दैन तर गृहस्थाश्रमका लागि पत्नी अनिवार्य हुन्छिन् । वास्तवमा पत्नीबिनाको घर घर नै होइन जुन घरमा गृहिणी हुन्छिन् त्यही नै घर हो । गृहिणी नभएको घरलाई वनजस्तै मानिएको छ । रूखको फेद अर्थात् जङ्गलमा नै किन नहोस् पत्नीको साथ छ भने त्यही नै गृह हो । आफ्नी पत्नी ‘कान्ता’ नरहेको दरबार पनि वन हो भनेर व्यासले भनेका छन् । हिन्दु संस्कृतिमा घर हुनका लागि पत्नी अनिवार्य रहेकाले पनि वैदिक सभ्यातामा नारीहरुको स्थान महत्वपूर्ण रहेको छ भन्ने कुरा स्पष्ट हुन्छ ।

नारीको सम्मान

वैदिक हिन्दु सनातन धर्ममा प्राचीन कालदेखि नै पत्नीको सम्मान हुँदै आएको छ । हाम्रो संस्कृति र परम्परामा अग्नि, गुरु, ब्राह्मण, गाई, कन्या एवम् कुमारीलाई लत्याउनु हुँदैन । साथै आफूभन्दा ज्येष्ठ र पूज्य व्यक्ति एवम् साना शिशुलाई समेत खुट्टाले स्पर्ष गर्नु हुँदैन भन्ने शास्त्रीय मान्यता छ । प्रत्येक धर्मनिर्धारकहरुका मतमा नारी जाती एवम् कन्याहरुलाई सम्मान गर्नुपर्छ, उनीहरुको मानमर्दन गर्नु हुँदैन भन्ने स्पष्ट छ । ती आजकी कन्या नै भोलि कसैकी पत्नी, आमा, बुहारी बन्न पुग्छिन् । कन्याको सम्मान भनेकै समग्र नारी जातिकै सम्मान हो । पत्नीलाई अर्धाङ्गिनी पनि भनिएको छ अर्थात् पत्नीबिना पुरुष पूर्ण हुन सक्दैन । पत्नी अर्धाङ्गिनी मात्र होइन मित्ररूपा पनि हुन् । आफ्नी पत्नीसँग घर चलाउने मात्र कुरा हुँदैनन्, मनका अन्तरङ्ग कुराहरु पनि गरिन्छन् । यस दृष्टिले हेर्दा पत्नी एक असल मित्ररूपा पनि हुन् जसले दुःख–सुखमा साथ दिनुका साथै सल्लाह पनि दिन्छिन् । तिनको खुसीमा आफ्नो खुसी र पतिको दुःखमा आफ्नो दुःख सम्झने हुनाले नै वास्तवमा पत्नीलाई अर्धाङ्गिणी भनिएको हो । त्यसैले पनि पत्नीलाई मित्रका रूपमा शास्त्रले सम्मान दिएको हो ।

सन्तानलाई हुर्काउन–बढाउन र कर्मठ बनाउन पत्नीको भूमिका महत्वपूर्ण मात्र नभई अपरिहार्य पनि रहेको छ । वंशको निरन्तरता, कुलको मर्यादा जोगाउन आफ्नो स्वाभिमान जोगाइराख्न र आफूलाई शारीरिक, मानसिक रूपले सदा तयारी अवस्थामा राख्न पनि पत्नीको साथ आवश्यक हुन्छ । त्यसैले मनुले भनेका छन् आफ्ना सन्तानका चरित्रको, कुलको, धर्मको र आफ्नो रक्षासमेत आफ्नी पत्नीको रक्षाबाट मात्र सम्भव छ । यति मात्र होइन सन्तानको प्राप्ति, धर्मकार्य, सेवाको साथै पितृहरुको र आफ्नो आनन्द तथा स्वर्ग पनि पत्नीको अधीनमा रहेको कुरा पनि मनुले बताएका छन् । धर्मपत्नीका यथोचित, योग्य, समय सुहाउँदा मागहरुको सम्बोधन गर्नुका साथै पत्नीलाई माया, ममता, स्नेह दर्शााएर बस्त्र, अन्न, आभूषण इत्यादिले सत्कार गर्नु साक्षात् लक्ष्मीको पूजा गर्नु जस्तो हो भनिएको छ । स्नेहपूर्वक सत्कर्म तथा सदाचारमा संलग्न लगाएर र त्यस्तै कार्यमा रमाउने वातावरणको सिर्जना गर्नुपर्दछ । जहाँ नारीको आदर, सम्मान र सत्कार हुन्छ त्यहाँ मानिसको त के कुरा देवाताहरु पनि प्रसन्न हुन्छन् । जहाँ नारीहरुको आदर, सम्मान र सत्कार हुँदैन त्यहाँ गरिएका सम्पूर्ण लौकिक कृत्यका साथै धार्मिक कृत्यहरु पनि विफल हुन्छन् । धार्मिक, लौकिक, पारिवारिक व्यावहारिक कृत्यकर्म सञ्चालनकी मुख्यकर्ता नारी हुन् अर्थात् माता हुन् तर हाम्रो हिन्दु संस्कारभित्र भने हिन्दु स्मृति पुराणादिहरुले पिता अर्थात् पुरुषलाई संवैधानिक श्रेष्ठता दिएको छ । यस्तो महत्वशालिनी नारीलाई माता बनाउन पाउँदा पुरुष जगत् प्रसन्न छ । तापनि नारीलाई देवीको अवतारका रूपमा सम्मान गर्दछ ।

हाम्रो हिन्दु समाज हो तसर्थ समाजमा भएका घटाना तथा चलनहरुबाट पनि हामीले आफ्नो संस्कार बुझ्ने गर्दछौं । घरमा पिताको भन्दा माताको प्रभाव ज्यादा रहन्छ । बाह्र वर्ष पुगेकी छोरी र बुहारीलाई च्वास्स हृदय छुने दुर्वचन नबोल्न शुक्राचार्यले भनेका छन् । नारीको सम्मान सत्कार र इज्जतका लागि पुरुष त्रियााशील हुनुपर्छ । आफ्ना छोरी, चेली, पत्नीको इज्जत रहेमा मात्र आफ्नो इज्जत रहन्छ अन्यथा रहँदेन । कुनै पनि पुरुषको इज्जत उसको घरको अवस्था, परिस्थितिसँग निर्भर रहन्छ । घरका दिदीबहिनीहरु सज्जन, माता धार्मिक स्वभावकी मर्मज्ञ, श्रीमती कुलवती, छोरीहरु अध्ययनशील विद्वान् त्यसैगरी पुरुषहरु पनि उच्च कुलीन, शालीन स्वभावका विद्वान्, दानशील एवं परोपकारी भएको खण्डमा गृहपतिको इज्जत रहन्छ । वैदिक सनातन हिन्दु धर्ममा पत्नी अर्थात् नारी जगतलाई बडो सम्मान गरिएको पाइन्छ । छोरी, बहिनी बुहारीलाई बडो स्नेहले आदरपूर्वक पालनपोषण गर्नुपर्ने कुरा पनि शुक्राचार्यले उल्लेख गरेका छन् । छोरी बुहारीको सम्मान गर्नु भनेको नारीको सम्मान हो, उनीहरुप्रति आदरभाव देखाउनु हो । हिन्दु सनातन धर्ममा पत्नीलाई साक्षात् लक्ष्मीको रुपमा वर्णन गरिएको छ । नेपाली समाजमा पनि पत्नीलाई गृहलक्ष्मी भन्ने चलन अद्यावधि छँदै छ । पत्नी नै घरकी शोभा हुन्, पत्नीबिनाको घर वास्तवमा घर होइन र घरको कुनै शोभा पनि हुँदैन ।

हाम्रो नेपाली समाजले त साँझमा सधवा नारीको नाडीमा भएका चुराको झङ्कारले मन्दिरमा भएको घण्ट ध्वनिको काम गर्ने विश्वास गर्दछ । हाम्रा शास्त्रले पत्नीको महत्व राम्ररी दर्शाएका छन् । जुन पुरुषले स्त्रीको सम्मान गर्न जान्दछ त्यसले आफ्नो गृह सञ्चालन पनि राम्रारी गर्न जान्दछ । आफ्ना श्रीमान्ले आफूलाई राम्रोसँग माया गरोस्, आफ्ना मनका चाहनाहरु पनि पूरा गरिदियोस् भन्ने कुरा पत्नीले चाहनु अस्वाभाविक होइन । जसले सम्मान गर्न जानेको हुन्छ माया पनि त्यसैले गर्न जानेको हुन्छ भन्ने कुरा हाम्रो समाजमा व्याप्त छ । श्रीमान्ले आफ्नी श्रीमतीलाई राम्रो भोजन समायानुकूलको वस्त्र, यथाशक्य गरगहना इत्यादि दिएर र रसिला ज्ञानोपयोगी कुराकानी गरेर सदा सन्तुष्ट राख्नुपर्दछ, कदापि सराप्नु हुँदैन भनेर शाण्डिल्य मुनिले आफ्नो शाण्डिल्यस्मृति नामक ग्रन्थमा उल्लेख गरेका छन् । विवाह परमात्माको अनुकम्पाले निर्धारण गरिने कुरा हो, आफ्ना इच्छाले होइन, देवताले दिएर मात्र पाइन्छ । त्यसैले देवतालाई प्रसन्न पार्न पनि धर्मपत्नीलाई राम्रो व्यवहार गरेर भरणपोषण गर्नु पर्दछ । उल्लेखित सम्पूर्ण कुराहरुबाट पनि हिन्दु धर्मशास्त्रहरुमा नारीलाई अत्यन्त सम्मान गरिएको कुरा स्पष्ट हुन आउँछ ।

काम क्रिया

सनातन वैदिक धर्ममा कामलाई पनि महत्वपूर्ण स्थान दिइएको छ । वर्तमानमा मात्र नभई भूत र भविष्यमा समेत कामले राम्रो प्रभाव पारेको हुन्छ । मानिसले कर्तव्यमा अडिग भएर धर्मले युक्त भएर आर्जन गरेको सम्पत्तिको उपयोग तथा उपभोग पनि धर्मको वृद्धिको लागि नै गर्नुपर्दछ । काम भनेको लौकिक अर्थमा अर्थात् अपठितहरुका भाषामा रतिसुख तर बौद्धिक, तपस्वी, ज्ञानी जनहरुका परिभाषामा भने कामको अर्थ प्राप्ति हो । कठिन परिश्रम गरेर दुःख मिहिनेतका साथ आर्जन गरेको सम्पत्तिको समुचित प्रयोग नै वास्तवमा काम हो । उपयोग अन्तर्गत विभिन्न सुखहरु पर्दछन् । संस्कृत वाङ्मयमा सुखको लक्षण पनि बताइएको छ । ‘अनुकूलवेदनीयं सुखम्’ अनुकूलताको अनुभव सुख हो भने ‘प्रतिकूल वेदनीयं दुःखम्’ अर्थात् प्रतिकूलताको अनुभव नै दुःख हो । उपयोग भनेको प्रयोग हो । जहाँ आफ्नो मनले अनुकूलता ठान्दछ त्यही नै सुख हुन्छ । तसर्थ सुखको अनुभव पनि एक प्रकारको काम नै हो । मनाव हृदयमा सूक्ष्म रूपमा विकार तथा वासना रहिरहेको अवस्थामा त्यो विकार तथा वासनालाई मर्यादामा रहेर नियन्त्रण गर्नु नै सनातन धर्मको अर्थ हो । हाम्रो पर्यावरणमा रहने गरेका फोहोरमैला तथा हिलोमा पुष्पहरु फुल्दछन् । जस्तैः हिलोमा कमल फुल्छ । हाम्रो संस्कृति सभ्याताले हिलो मात्र नदेखी, फूल फुलेको पनि देख्न सक्छ भन्ने सन्देश दिन चाहान्छ । हाम्रो दर्शनले हिलोको सान्निध्यतालाई आफ्नो लक्ष्य ठान्दैन तर लक्ष्य प्राप्तिको माध्यम ठान्दछ । हाम्रो लक्ष्य त कमलको फूलको सुन्दरता, कोमलता, वासना आदिको ग्रहण गर्नु हो । मेघमा चाँदीको घेराको खोजी गर्नु, जमिनमुनि हीरा, मोती, सुनको खोजी गर्नु, समुन्द्रको छालमा शंखको खोजी गर्नु हाम्रो मानव सभ्यताको लक्ष्य हुनुपर्दछ । जहाँ अभाव हुन्छ, जहाँ विनाश हुन्छ, त्यहाँ पूर्तिसँगै विकासको सम्भावना देख्नु हाम्रो मानव सभ्यताको धर्म पनि हो । त्यसैले काम नराम्रो होइन कि काम राम्रो कर्मको द्योतक पनि हो ।

गृहस्थाश्रमको सुरुवाती गन्तव्य विवाह हो । विवाह पछि बल्ल गृहस्थाश्रमको पहिलो पाइला सुरु हुन्छ । गृहस्थ धर्मको प्रमुख धर्म हो । विवाह ग्राहस्थ जीवनको प्रमुख दायित्व हो । सन्तान उत्पादनको निम्ति सबै संस्कारमध्ये विवाह संस्कार श्रेष्ठ संस्कार हो । स्त्री–पुरुषबीचको सम्बन्ध एक जन्मको मात्र नभएर जन्मजन्मान्तरको तपस्या, कर्म, भाग्य आदिको प्रभावले हुन्छ भन्ने कुराको विश्वास सनातन धर्मले गरेको छ । तर हाम्रो वैदिक आर्य सभ्यताभन्दा बाहिरको सभ्यता र धर्मले भने विवाहलाई कामवासनाको तृप्ति गर्ने साधन र माध्यम मात्र ठान्दछन् । पश्चात्य धर्म दर्शन र पूर्वीय वैदिक बीच अन्तर नै यही छ । उनीहरुले विवाह सम्बन्ध संयोग हो र विवाह सम्बन्ध विच्छेदलाई सामान्य रूपमा लिएका छन् ।

आँखा, नाक, कान, जिब्रो र छालाजस्ता पाँच इन्द्रियहरुको इच्छा अनुसार रूप, गन्ध, शब्द, रस र स्पर्शको प्राप्तिबाट मानिसले जुन आनन्द प्राप्त गर्दछ त्यो नै काम हो । धर्मदर्शन तथा समाजका सबै पक्षको पछाडि कामको भावना लुकेको हुन्छ । समाजका विकासका कार्यहरु अगाडि बढ्नमा पनि मानव कामले भूमिका लखेको हुन्छ । नियमित र स्वच्छ काम गर्नाले मानव जतिखेर पनि स्वस्थ हुन्छ । पुरुषको तुलनामा स्त्रीको आहार दुई गुना, लज्जा चार गुना, साहस छ गुना तथा कामवेग आठ गुना बढी हुन्छ भनी काम शास्त्रमा उल्लेख गरिएको छ । नारीहरुमा पुरुषको तुलनामा कामचाहना बढी हुन्छ । प्राकृतिक दृष्टिले हेर्ने हो भने पनि नारीहरुको शारीरिक तथा मानसिक विकास पुरुषको तुलनामा छिटो भएको पाइन्छ । पुरुषहरुको तुलनामा नारीहरु सानै उमेरदेखि नै बढी जिम्मेवार देखिन्छन् ।

विभिन्न पौराणिक एवं धार्मिक कथाहरुमा पत्नीलाई पतिले स्नेहभाव, माया दर्शाएको पाइन्छ । आफ्नो धर्म, नैतिकतालाई पन्छाएर कतै पनि डर र त्रासको भरमा मात्र सदाचारी आदर्श समाजको कल्पना गर्न सकिँदैन । आफ्नी पत्नीसँगको कामोपभोगको विषयलाई कर्मशास्त्रले स्पष्ट रूपमा धार्मिक नै मानेको छ तर जबरजस्ती सहवास गर्ने कुरालाई धर्मशास्त्रले अत्यन्त निन्दा गरेको छ । सहवास गर्ने इच्छा नभएकी, रिसाएकी बिरामी, गर्भ बोकेकी (गर्भवती) व्रतचारी, रजस्वला भएकी नारी (पत्नी) सित कुनै पनि पुरुषले बलजफ्ती सहवास नगरोस् । सहवासको इच्छा नभएका जो कोहीलाई पनि सहवास गर्ने पुरुषलाई नेपालको कानुनले पनि बलात्कारको संज्ञा दिएको छ । बलात्कार आफैंमा जघन्य अपराध हो । धर्म संस्कार, संस्कृतिको विकास, संरक्षण, सम्वद्र्धन नगरेका कारण र विदेशी संस्कृतिको बढ्दो प्रभावले बलात्कारजस्ता अप्रिय घटनाहरु हाम्रो समाजमा बढ्दै गरेका देखिन्छन् । नारी–पुरुषबीच हृदयतः सम्बन्ध रहनुपर्दछ । नारी र पुरुष बीचको सम्बन्ध सुमधुर भयो भने मात्र कुनै पनि किसिमको पारिवारिक समस्या आउँदैन । श्रीमान्श्र–मितीबीच राम्रो सम्बन्ध रहिरहनु भनेको भूस्वर्ग नै हो । श्रीमान् र श्रीमतीबीचको राम्रो सम्बन्धका लागि पक्कै पनि यौनजीवनले भूमिका खेलेको हुन्छ । मानिसमा कामवासना रहनु स्वाभाविकै हो र यौन सन्तुष्टिले शारीरिक एवं मानसिक सन्तुलन कामय हुन्छ भन्ने कुरा आधुनिक चिन्तन मात्र नभई शास्त्रीय मान्यता समेत हो ।

नारीहरु मात्र यौनसाथी होइनन्, जीवनका आरोह अवरोहहरुका सहयात्री पनि हुन् भन्ने कुरा धर्मशास्त्रीय ग्रन्थहरुमा उल्लेख गरिएको छ । नारीप्रति सदा राम्रो भावना हुनुपर्दछ, नारीहरुको सम्मान गर्न जान्नुपर्छ । यौन सबैथोक होइन तर पारिवारिक सुखसमृद्धि र शारीरिक सन्तुष्टिका लागि भने यौन अति आवश्यक रहेको छ ।

नारीको सुरक्षा

कुनै पनि राष्ट्रका जनताको सुरक्षा गर्ने जिम्मा सरकारको हुन्छ । जनताको सुरक्षार्थ राज्यले विभिन्न सुरक्षा निकायको स्थापना गरेको हुन्छ । जनताको जीउ धनको सुरक्षार्थ राज्यले विभिन्न सुरक्षा निकायहरुलाई परिचालन गरेको हुन्छ । चोरी, डकैती आदि अपराधपूर्ण कार्यबाट समस्त राष्ट्रको सुरक्षा गर्ने कार्य जति महत्वपूर्ण हुन्छ त्यो भन्दा पनि अझ बढी राष्ट्रका विवाहित–अविवाहित सबै नारी जाति बलात्कृत् हुनबाट रक्षा गर्ने कार्य पनि राष्ट्रले गर्नुपर्दछ । कुनै पनि कन्या कसैबाट बलात्कृत भएमा उसको कुमारित्व फर्काउन सकिँदै त्यसैले बलात्कार अत्यन्त निन्दनीय अपराध हो । बलात्कारका कारणबाट नारीमाथि पर्न गएको मानसिक एवं शारीरिक पीडाको क्षतिपूर्ति कसैगरे पनि हुन सक्दैन । तसर्थ नारीको सुरक्षाका लागि राष्ट्रले विशेष भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । नारीको सुरक्षामा राज्यसँगै परिवारको पनि उत्तिकै भूमिका हुन्छ । नारीमाथि परेको पीडाको क्षतिपूर्ति नहुने कुरा त माथि उल्लेख भइसक्यो तसर्थ पीडकलाई कारबाही गर्ने भन्दा पनि सतर्कता अपनाउनु धेरै राम्रो हुन्छ । हाम्रा धर्मशास्त्रीय ग्रन्थहरुले पनि नारीहरुलाई सदा पारिवारिक सुरक्षा दिनुपर्ने कुरा औंल्याएका छन् । बाल्यावस्थामा बाबुले, युवा अवस्थामा पतिले र वृद्धावस्थामा छोराहरुले नारीहरुको रक्षा गर्नु पर्दछ, नारीलाई दुर्जनहरुबाट जोगाउनु पर्दछ भनिएको छ ।

साह्रै वृद्धादेखि स–साना बालबालिकासम्म बलात्कृत भएको घटना बढेका समाचार आइरहेका छन् । धर्मशास्त्रीय ग्रन्थहरुमा पनि अनिच्छाको सहवासलाई अत्यन्त निन्दनीय मानिएको छ । आफ्नै वर्णको, आफ्नै जातको पुरुष भए तापनि यदि उसले जबरजस्ती कन्यालाई करणी गर्छ भने ऊ तत्कालै मृत्युदण्डको भागी हुने कुरा धर्मशास्त्रीय ग्रन्थहरुमा उल्लेख गरिएको छ । कन्याका इच्छाले, कन्याको सहमतिमा सहवास भएको खण्डमा भने पुरुष मृत्युदण्डको भागी हुनु पर्दैन । कन्यावस्थामा बाबुले, युवावस्थामा पतिले र वृद्धावस्थामा पुत्रले नारीको रक्षा गर्ने विषयलाई लिएर विभिन्न विचारकहरुले वैदिक सनातन धर्मले नारीलाई स्वतन्त्र रहन दिएको छैन भन्ने टिप्पणी गरेको पनि पाइन्छ तर त्यो राम्रो होइन । यस्तो टिप्पणी गर्नु भनेको शास्त्रको मर्म पटक्कै बुझ्न नसक्नु हो । नारीहरुको सुरक्षाको दृष्टिले नै धर्मशास्त्रीय ग्रन्थहरुमा यो कुराको उल्लेख गरिएको हो । आफ्नो अभिभावकको रेखदेखमा आफ्नो चरित्र जोगाउँदै सुकर्महरु गर्न नारीलाई कुनै बन्देज लगाइएको छैन । पुरुषको तुलनामा नारीहरु बढी यौनदुराचारको शिकार हुने गर्दछन् । यौनदुराचार वा बलात्कारको दुष्परिणाम मुख्यतः नारीहरुमा पर्ने हुनाले घटना घट्नु भन्दा अगावै सतर्क रहन पनि नारीहरुलाई अलि बढी निगरानी राख्न खोजिएको हो । आफ्नो चाहना नहुँदा नहुँदै बलात्कृत हुन पुगेका महिलालाई शास्त्रीय विधिले प्रायश्चित गराएर चोख्याउने व्यवस्था पनि शास्त्रमा उल्लेख छ । रात्रिकालीन हिँडाइहरुको क्रममा एकान्तमा पुरुषभन्दा नारीहरु असुरक्षित हुन्छन् । हाम्रा धर्मशास्त्रले महिलाका यी प्राकृतिक अवस्थाको दृष्टिगोचर गर्दै गरेका कुराहरुलाई वर्तमानमा सहज एवम् सकारात्मक रूपमा लिनुपर्दछ । पुरुषको काम महिलाले गर्न सक्लान् तर महिलाले गर्ने गर्भधारण पुरुषले गर्न सक्दैनन् । स्त्रीहरुको सम्मान तथा सुरक्षाका सबालमा धर्मशास्त्रमा धेरै कुरा उल्लेख गरिएको छ । एउटै अपराधमा पुरुषलाई मृत्यु दण्ड र महिलालाई कम सजाय दिने कुरा शास्त्रमा उल्लेख छ । कुनै पनि पापकर्म गर्दा पुरुषलाई भन्दा महिलालाई कम पाप लाग्ने कुरासमेत शास्त्रमा उल्लेख छ । विवाह नभएकी कन्यालाई कन्याकै सहमतिमा सहवास गर्दा पुरुषलाई तीन भागको दुई भाग र कन्यालाई तीन भागको एक भाग दोष लाग्छ भन्ने कुरा महाभारतमा उल्लेख गरिएको छ । समाजका कतिपय व्यक्तिहरुले धर्मशास्त्रको मूल मर्म नै नबुझी हाम्रा आदिम सभ्याताका स्वतन्त्र ज्ञानमूर्ति ऋषिमुनिहरुका अलौकिक दिव्यदृष्टिद्वारा सूक्ष्मभन्दा सूक्ष्म कुराको विचार गरी बनाइएका लोक कल्यणकारी भावनालाई नबुझी मात्र भौतिकवादी दृष्टिकोण राख्दै शास्त्रमा उल्लेखित कतिपय कुराहरुको अन्तर रहस्यलाई ध्यान नदिई तथा विचार विमर्श नगरी बोल्नु तथा भ्रम सिर्जना गर्नु किमार्थ राम्रो होइन ।

मान्छेले आफ्नो अधिकार खोज्न पाउँछ तर मान्छे आफ्नो कर्तव्यबाट च्यूत हुन पाउँदैन । आफ्नो अधिकार माग गर्दै बोल्न पाउँछ तर अरूलाई असर पर्ने गरी चिच्याउन पाउँदैन, यो हाम्रो सामाजिक, प्रजातान्त्रिक नियम हो । स्वतन्त्रताको पनि मर्यादा र अनुशासित रूपमा नै उपभोग गर्नुपर्दछ । धर्मशास्त्र, राज्यको कानुन तथा सामाजिक मूल्य र मान्यता अनुसार नै सबै रहनुपर्दछ । कुनै पनि मान्छे विधिभन्दा माथि छैन । स्त्री–पुरुष जो कोहीले पनि धर्मशास्त्रीय मर्यादाको उल्लङ्घन गर्नु हुँदैन । वैदिक धर्मशास्त्रीय ग्रन्थहरु हजारौं वर्षको तपस्या र अनुभवका फल हुन् । यिनीहरुको निर्माण सूक्ष्मातिसूक्ष्माध्ययनबाट भएको हो । नारी–पुरुषका शाश्वत लैङ्गिक प्रकृतिलाई विचार गरेर स्त्री र पुरुषलाई विभिन्न बन्धन वा अनुशासनद्वारा सत्मार्गमा हिँडाउन यौन दुराचार, बलात्कारजस्ता यौन विकृतिबाट रोक्न प्रयासका कुराहरुलाई लिएर त्यसको अर्थ बङ्ग्याउनु किमार्थ राम्रो होइन । धर्मशास्त्रीय ग्रन्थहरुले समाजमा सामाजिक मर्यादा कायम गर्न खोजेका हुन् ।

धर्मशास्त्रको यस्तो उदार भावना हुँदाहुँदै शास्त्रको गहिरो अध्ययन तथा आशयलाई बङ्ग्याउँदै शास्त्रीय नियमको उपहास गरेको यदा कदा पाइन्छ । समाजमा सबै किसिमका मानिसहरु हुने भएको हुनाले यस्ता कुराहरु हुनुलाई अस्वाभाविक पनि मान्नु हुँदैन । समग्रमा भन्नुपर्दा हाम्रो वैदिक सनातन हिन्दु धर्ममा नारीहरुको अत्यन्त श्रद्धा र सम्मान छ । शास्त्रीय ग्रन्थहरुमा उल्लेख गरिएका देवीका स्वरूपहरु देवीका पीठको चर्चा पनि नारी सम्मान नै हो । नारीहरुको सम्मान र सुरक्षाका लागि वैदिक परम्परादेखि हाम्रो समाज सचेत रहेको पाइन्छ । नारीहरु परिवारका रत्न हुन् समाज एवं राष्ट्रका आभूषण पनि हुन् तसर्थ सफल पुरुषहरु नारी रक्षार्थ लागिपर्दछन् । नारी ममताकी प्रतिमूर्ति, वात्सल्यदायी माता, स्नेहकी मूर्ति र प्रेरणापुञ्ज हुन् । जीवनकी सहयात्री, अर्धाङ्गिनी, पत्नी पनि हुन् । तसर्थ वैदिक सनातनकालदेखि नै हिन्दु समाज नारी जातिको सुरक्षा तथा रक्षाका लागि क्रियाशील रहेको पाइन्छ ।


प्रकाशित मितिः शुक्रवार, फागुन १०, १७:५०