भक्तपुरः काठमाडौंमा निकिशा श्रेष्ठमाथि दुर्व्यवहार भएको घटनामा संलग्न तीनै जना भक्तपुरबाट पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरले निकिशामाथि दुर्व्यवहार गर्ने तीनै जनालाई आज पक्राउ गरेको हो ।

प्रहरीले भक्तपुर नगरपालिका–५ तौमढी बस्ने १७ वर्षीय विशेष जोशी, भक्तपुर नगरपालिका–१ बस्ने १९ वर्षीय सफिल खत्री र अर्का एक जना भक्तपुर नगरपालिका–५ टौमढी बस्ने १६ वर्षीय किशोर रहेको परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक गिरीले जानकारी दिए ।

जोशीलाई आज बिहान र अन्य दुई जनालाई दिउँसो पक्राउ गरिएको डीएसपी गिरीले बताए ।

उनका अनुसार सफिलले मोटरसाइकल चलाएका थिए भने नाम नखुलाइएका पछाडि बसेका किशोरले निकिशामाथि अपशब्द प्रयोग गरेका थिए ।


उनीहरुमाथि थप अनुसन्धान तथा कारवाही समेत भईरहेको गिरीले बताए ।

सामाजिक सञ्जालमा मोटरसाइकलमा आएका व्यक्तिले निकिशालाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो ।


प्रकाशित मितिः २०७७ साल मंसिर ४ बिहीबार, १८:२८