वीरगञ्जः नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र भनेको देशको आर्थिक विकासका लागि रियल एक्टर भएको बताएका छन् ।

उनले भने, ‘मुलुकको विकास र आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका उल्लेखनीय छ ।’ उनले भने, ‘निजी क्षेत्रले रोजगारी सृजना गर्नुका साथै मुलुकलाई राजस्वमा योगदान पुर्‍याउने र पूर्वाधार निर्माण र यसको विकासमा पनि मुख्य भुमिका खेलेको छ, त्यसैले निजी क्षेत्र भनेको देश विकासको एक रियल एक्टर नै हो ।’

वरिष्ठ उपाध्यक्ष ढकालले वीरगञ्ज उद्योग वाणिज्य संघको ४५ औं वार्षिक साधारण सभालाई आज प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै कोभिडका कारणले दुई प्रतिशतको नेगेटिभ ग्रोथ भइरहेको अवस्था रहेको पनि स्पष्ट गरे ।


उनले यहाँका जति पनि समस्या र मुद्दाहरु छन्, तिनलाई नियममनकारी निकायमा लग्नका लागि वीरगञ्ज उद्योग वाणिज्य संघले पहल गर्ने र महासंघले सम्बन्धित निकायमा लैजाने प्रतिबद्धता व्यक्त गरे ।

नेपालमा कर तिर्ने देशहरुको हिसाब गर्ने हो भने १९० देशहरुको हिसाब गर्दा हामी १७५ स्थानमा रहेको पनि उनले जानकारी गराए । त्यस्तै लजिस्टिकको हिसाबले ११४ वटा देशलाई तुलना गर्दा खेरी हामी १०८ औं नम्बरमा परेको अवस्था रहेको उनले बताए ।

देशमा व्यवसायिक क्रियाकलापहरु बढाउने वातावरणका लागि नेपाल पछाडि रहेको तथ्यांक प्रस्तुत गर्दै उनले आफू नेपालको निजी क्षेत्रको एक प्रतिनिधित्वका हिसाबले त्यसमा सुधारका लागि सरकारले पहल गर्नुपर्ने धारणा राखे ।

त्यसैगरी व्यवसायिक गतिविधिलाई बढाउनको लागि कर तिर्ने वातावरणको हिसाबले १९० देशहरुका तुलनामा नेपाल १७५औं नम्बरमा रहेको पनि उनले जानकारी दिए ।


प्रकाशित मितिः २०७७ साल फागुन २८ गते शुक्रबार, २१:१७