काठमाडौंः अमेरिकी राज्य मिजुरीले नियतवश कोरोनाभाइरस महामारी फैलाएको आरोपमा चीन सरकार र सत्तारुढ कम्युनिस्ट पार्टीविरुद्ध अदालतमा मुद्दा हाल्ने तयारी गरेको छ ।

अमेरिकाले कोरोनाभाइरस महामारीका लागि चीनलाई दोष दिने क्रम बढिरहेको बेला यो मुद्दा दर्ता गराउने तयारी गरिएको हो ।

चीन सरकारले कोरोना भाइरसको सम्भावित जोखिम र यसको संक्रामक स्वरुपबारे बेलैमा सूचित नगरेको तथा सूचना दिन खोज्नेलाई पनि रोकेकाले मुद्दा दायर गरिएको मिजोरीका महान्यायाधीवक्ता एरिक स्च्मिटले जानकारी दिएका छन् ।

‘त्यो कार्यका लागि उनीहरुलाई उत्तरदायी बनाउन पर्छ,’ उनले थपे ।

मुद्दामा मानिसहरुको मृत्यु, उनीहरुको दुःख र राज्यमा भएको आर्थिक विपद्का लागि क्षतिपूर्ति माग गरिएको छ ।


चीनले विपद्लाई गलत तरिकाले व्यवस्थापन गरेको आरोप अस्वीकार गर्दै आएको छ ।

मिजुरीका अधिकारीहरुले उक्त मुद्दालाई ऐतिहासिक भने पनि अमेरिकी अदालतमा मुद्दा दायर गर्न ठूलो कानुनी अड्चन हुने बताएका छन् ।

अमेरिकी अदालतहरुमा विदेशी सरकारलाई प्रतिपक्षी बनाउन नपाइने भएका अवस्थामा चीनले यस्ता मुद्दाहरुबाट डराउनुपर्ने अवस्था नरहेको बताइएको छ ।

अमेरिकाले चीनविरुद्ध मुद्दा हाल्ने हो भने अन्तर्राष्ट्रिय मञ्चहरुमा जानुपर्छ जहाँ चीनले पनि जवाफ दिने मौका पाउँछ ।


प्रकाशित मितिः बुधबार, वैशाख १०, ११:४४