काठमाडौंः काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरस्थित सडकबाट नियन्त्रित लागूऔषध ६० एम्पूल डाईजेपाम, ६० एम्पूल बुप्रेनोर्फिन र ६० एम्पुल फेनारगन सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट बेलकोटगडी नगरपालिका–४ वडारे बस्ने २७ वर्षीय सञ्जु गुरुङ र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–७ बस्ने २६ वर्षीय आले लामा रहेका छन् ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरुको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, काठमाडौं महानगरपालिका–६ बौद्ध तिनचुलेस्थित सडकबाट नियन्त्रित लागूऔषध १८ एम्पुल डाईजेपाम, १८ एम्पुल बुप्रेनोर्फिन र २० एम्पुल फेनारगन सहित सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–४ घर भएकी २३ वर्षीया सोनी तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा तामाङको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उक्त ब्यूरोले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २० बिहीबार, १९:५२