काठमाडौं: कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा.रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन हुन नसक्ने बताएका छन्।

डा. महतले ‘नीति तथा कार्यक्रम एउटा डिरेक्सन हो । यसले कार्यान्वयन गर्न सक्ने विश्वसनीय आधार देखाएको छैन’ भन्दै आफ्नी टिप्पणी दिएका हुन्। उनले भने ‘अनुशासन, निष्पक्षताको ग्यारेन्टी र काम गर्ने संस्कृतिमा सुधार नल्याएसम्म नीति तथा कार्यक्रम अनुरुप विकास सम्भव देखिन्न ।’

कांग्रेस नेता डा.महतले कर्मचारी प्रशासनमा गरीरहेको सरुवा आतंकले निष्पक्षताको ग्यारेन्टी दिन नसक्ने बताए । ‘नीति तथा कार्यक्रममा विभाग, मन्त्रालय र सामान्य कार्यालयले गर्ने कामलाई समेत समेटिएर लामो र भद्धा बनाइएको छ’, उनले बताए ।


‘सरकारको नीति तथा कार्यक्रममा महत्वपूर्ण र नयाँपन देखिन सक्नुपर्छ, तर लामो र महत्वकांक्षी कार्यक्रम सार्वजनिक गरेको छ’, डा.महतले भने, ‘एक वर्षको नीति तथा कार्यक्रम पञ्चवर्षीय योजना जस्तो बनेको छ ।’

‘सरकारको काम गर्ने तरिका र अुनशासन हिनताका कारण कार्यन्वयनमा धेरै शंका छ’, डामहतले भने, ‘कार्यान्वयनमै शंका छ । नीति तथा ठोस कार्यक्रम बजेटमा कसरी रुपान्तरण हुन्छ त्यसमा पनि भर पर्छ ।’