काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रम सपना बढी र महत्वकांक्षी लक्ष्यमात्रै रहेको बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्बल नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले भने ‘१० वर्षभित्र मध्यम आय भएको मुलुक बनाउँछौं भनिएको छ, तर लक्ष्य हाँसिल गर्ने आधार खोई ? अहिले हामीलाई प्रशासनिक क्षमता अभिवृद्धिको आवश्यकत्ता छ, यति वर्षमा यो गर्छौ, ऊ गर्छौ भनिएको छ, यो नीति तथा कार्यक्रम सपना बढी र महत्वकांक्षी लक्ष्यमात्रै हो।’

उनले नीति तथा कार्यक्रममा व्यबहारिक धरातलका लक्ष्यहरु समावेश नगरिएको गुनासो पोख्दै भने ‘यो नीति तथा कार्यक्रममा वार्षिक कार्यक्रमको चरित्र कम र ५-१० वर्षे कार्यक्रमहरु देखिएको छ।


नेता महतले अहिलेको नीति तथा कार्यक्रमले ‘ड्रिमिङ् टार्गेट्स’ राखेको बताए । उनले थपे, ‘तर कार्यान्वयनको योजना छैन, आगामी पाँच वर्षभित्र राष्ट्रिय आय दोब्बर बनाउँछौं भनिएको छ, त्यसको लागि वर्षमा १५ प्रतिशतको आर्थिक बृद्धि हुनुपर्छ, यो दुनियाँमै कहीँपनि भएको छैन, बढीमा भयो भने ७ देखि ८ प्रतिशत मात्रै हो ।’

आफूहरु जनतालाई झुक्याउने पक्षमा नरहेको बताउँदै भने, मुलुकमा यतिवेला चूनौतिको रुपमा रहेको संघीयता कार्यान्वयनको सवालमा संस्थागत संरचना बनाउन र प्रशासनिक क्षमता वृद्धि गर्नेबारे सरकारको नीति तथा कार्यक्रम मौन छ । सरकारले धेरै भन्दा लक्ष्यहरु राखेको छ, तर प्रशासनिक क्षमता बढाएर अघि बढ्नुपर्छ, त्यतातिर ध्यान दिनुपर्दछ ।

मुलुकमा यतिबेला चुनौतिको रुपमा रहेको संघीयता कार्यान्वयनको सवालमा संस्थागत संरचना बनाउन र प्रशासनिक क्षमता बृद्धि गर्नेबारे सरकारको नीति तथा कार्यक्रम मौन रहेको उनको गुनासो छ । उनले समग्रमा सरकारले हिजो सार्वजनिक गरेको नीति तथा कार्यक्रम वार्षिक चरित्र भन्दा पनि चुनावी घोषणापत्रको लक्ष्यतर्फ अघि बढेको आरोप लगाए।

उनले भने, स्थानीय तथा प्रदेश दुबै तहको क्षमता बढाउनु पर्दछ, प्रदेशमा कसरी प्रशिक्षित कर्मचारी पुर्‍याउने हो ? त्यतातिर सरकारले ध्यान पुर्‍याएन, तीनै तहको सरकारका क्षमता अभिवृद्धि गर्नुपर्दछ ।

उनले नीति तथा कार्यक्रममै कार्यक्रमहरुको अभाव रहेको समेत गुनासो पोखे । सरकारले सुशासनको प्रत्याभुति दिलाउनुपर्ने हो, तर अहिलेको सरकारको चाला हेर्दा स्थिर सरकार हुनेमा शंका लागेको बताउँदै उनले समग्रमा सरकारले हिजो सार्वजनिक गरेको नीति तथा कार्यक्रम वार्षिक चरित्र भन्दा पनि चुनावी घोषणापत्रको लक्ष्यतर्फ अघि बढेको आरोप लगाए ।