नुवाकोटः नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

बट्टारस्थित खेल मैदानमा आज भएको फाइनल प्रतिस्पर्धामा थ्रीस्टार क्लबलाई १–० गोल अन्तरले हराउँदै पहिलो नुवाकोट गोल्डकपको उपाधि विभागीय टोली नेपाल पुलिसले जितेको हो ।

नेपाल पुलिसलाई विजयी गराउन खेलको दोस्रो हाफको ५३ औँ मिनेटमा रवि पासवानले गरेको गोल निर्णायक भएको हो ।

प्रतियोगिताको बिजेता नेपाल पुलिसले रु पाँच लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता थ्रीस्टारले रु तीन लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

जिल्ला खेलकुद बिकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा गत जेठ १७ गतेदेखि शुरु भएको प्रतियोगितामा राष्ट्रियस्तरका दशवटा क्लबले सहभागिता जनाएका थिए ।