काठमाडौंः प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई आज निवासबाटै पक्राउ गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो ।

यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ ।

गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अखिल नेपाल महिला संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।


झाँक्रीको पक्राउको विरोधमा उनको निवासबाहिर नेकपा प्रचण्ड–माधव समूहका धेरै कार्यकर्ता भेला भएका थिए ।

कार्यकर्ताको चर्को नारावाजीका बीच झाँक्रीले आफूमाथि प्रहरीको पक्राउ पूर्जि आएको भन्दै राज्यको इमान्दार नागरिकको हैसियतमा गिरफ्तारि दिएको बताइन् ।


प्रकाशित मितिः २०७७ साल माघ २९ गते बिहीबार, १७:५२