काठमाडौंः नेपाली कांग्रेसले पर्सा घटनामा हत्याको जाहेरी समेत नलिएको र अस्पतालमै मृतकको शव रहिरहनु दुःखद् भएको बताएको छ ।

नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानुनी राज्यको कस्तो अपेक्षा राख्ने भन्दै प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गरेका छन् ।

‘पर्सा घटनामा आइपुग्दा सत्ता उन्मादमा रहेको दलभित्रको द्वन्द्वले आफ्नै कार्यकर्ताको हत्या गरेर चरम अहिष्णु, उग्र र आपराधिक चरित्रको विकास हुँदै गरेको संकेत गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

पर्सा विन्दावासिनी गाउँपालिका नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरासियाको हत्याको घटनाबारे गहिरो छानबिन गरी दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न कांग्रेसले सरकारसँग माग गरेको हो ।


पार्टीले घटनाको दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानुन कारबाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व हो भनेको छ ।

विज्ञप्ति


प्रकाशित मितिः २०७७ साल कार्तिक ८ शनिबार, २०:१८