काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एन.पी. साउदले उपनिर्वाचनले कांग्रेसको जनमत बढेको र नेकपाको जनमत घटेको स्पष्ट पारे ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता साउदले भने, ‘यो निर्वाचनले कांग्रेसको जनमत बढेको छ । अहिले दुई तिहाई बहुमतको वर्तमान सरकारमा गम्भिर ह्रास भएको छ । हामी आगामी दुई वर्षमा कांग्रेसलाई पूर्नस्थापित गराउँछौं । कांग्रेस बलियो हुन्छ ।’ आफूहरु आगामी निर्वाचनको लागि तयारीमा जुटेकोपनि उनले सुनाए । उनले भने, ‘यो निर्वाचन परीणामलाई सकारात्मक रुपमा लिएका छौं । जनताप्रति हामी हार्दिक आभार र धन्यवाद व्यक्त गर्न चाहन्छौं ।


।’

कास्की क्षेत्र नम्बर २ र दाङमा सहानुभुतिको कारण नेकपाका उम्मेद्वारले विजयी हासिल गरेको उनको विश्लेषण छ । उनले भने, ‘अरु ठाउँमा जहाँ नेकपाले उम्मेद्वारले जितेका छन्, ती ठाउँमा पनि सहानुभुति लहरका कारण उनीहरुको अनुकुल परीणाम आएको हुनसक्दछ । किनभने ती ठाउँमा तत्कालिन पदासिन व्यक्तिहरुका विधवाहरु उम्मेद्वारको रुपमा रहिआएका थिए । त्यही भएर सहानुभुति भोट आयो ।’ बाग्लुङमा त नेकपाले पराजयको डरले उम्मेद्वारी नै नदिएको र जनमोर्चासँग आत्मसमर्पण गरेको उनको आरोप छ ।

यद्यपी उपनिर्वाचनको परीणामले तीनवटै तहका आधारभुत संरचनामा खासै प्रभाव नपर्ने उनको भनाई छ । उनले भने, ‘यो निर्वाचनले नेकपाप्रति रुची घटाएको छ । कतिपय महत्वपूर्ण ठाउँमा हामीले जित हासिल गरेका छौं । भक्तपुर र धरानमा हामीले जित्यौं । कतिपय महत्वपूर्ण वडामा पनि जितेका छौं । यसले कांग्रेसलाई उत्साहित बनाएको छ ।’

त्यस्तै, कांग्रेस पराजित भएका कतिपय ठाउँमा पनि धेरै ठूलो मतान्तर नभएको उनको स्पष्टोक्ति थियो । उनले भने, ‘पराजित भएका ठाउँमा पनि हामीले मतान्तर घटाएका छौं । निर्वाचनको परीणाम सत्तासिन अनुकुल आएन्, यो भनेको उसको लोकप्रियतामा गम्भिर ह्रास हो ।’ उपनिर्वाचनले सरकारप्रति जनताको असन्तुष्टि पोखिएको पनि उनको टिप्पणी छ ।


प्रकाशित मितिः सोमबार, मंसिर १६, १६:३९