काठमाडौंः नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पहिलो सचिवालय बैठक बालुवाटारमा सम्पन्न भएकाे छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्यहरुको सिफारिसलाई अनुमोदन गरेको छ ।

नेकपाले गरेको यो अनुमोदनसँगै ४४१ सदस्यीय केन्द्रीय कमिटी राख्ने निर्णयले पूर्णता पाएको छ ।

बैठकले पार्टीको संगठन एकीकरणका लागि अन्तरिम विधानको अधीनमा रही नियमावली मस्यौदा गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा कमिटीसमेत बनाएको जनाइएको छ । पौडेलको संयोजक उक्त कमिटीमा पार्टीका नेताहरु देव गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य रहने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।


प्रवक्ता श्रेष्ठका अनुसार, बैठकले सातवटा प्रदेश र विदेशका संगठन तथा कमिटीलाई एकीकरण गर्न पूर्वघटकका इन्चार्ज, संयोजक र सहसंयोजकहरु रहेको सुझाव कमिटी बनाइनेछ ।

जनवर्गीय संगठनहरूको एकीकरणका एकीकरणका अन्य बाँकी काम अघि बढाउन ७ वटै प्रदेश र प्रवासमा एकीकरण प्रक्रियाको निम्ति सुझाव पेस गर्न पूर्व माओवादी केन्द्र तथा एमालेका इन्चार्ज, संयोजक र सहसंयोजक रहनेगरी हरेक प्रदेश र प्रवासका लागि ४/४ सदस्यीय कार्यदल गठनको निर्णय समेत बैठकले गरेको छ ।

आज गठन भएका सबै कार्यदललाई १५ दिनको म्याद दिइएको छ भने केन्द्रीय कार्यालय धुम्बाराही वा पेरिसडाँडाका कार्यालयमध्ये एकलाई कायम गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही समयभित्र निर्णय लिने पनि क्षेष्ठले बताए ।

त्यसैगरी, बैठकले नेकपाको मूल राजनीतिक प्रतिवेदन र अन्तरिम विधान प्रकाशन गर्ने निर्णयसमेत गरेको छ ।

एमाले र माओवादी केन्द्रको यही जेठ ३ गते एकीकरण भएको थियो ।