काठमाडौँ: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदनका बारेमा स्थायी कमिटीका सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका छन् ।

शनिबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेल आफूहरूले बैठकमा राखेका प्रतिवेदनमाथि सदस्यहरूले उठाएका प्रश्नमा केन्द्रीत रहेर जवाफ दिएका थिए।

अध्यक्ष दाहाल र महासचिव पौडेलले बोलिसकेपछि पनि सदस्यहरूबाट पुरक प्रश्न आएपछि आइतबार जवाफ दिने भन्दै बैठक स्थगित गरिएको नेकपाले जनाएको छ।

जवाफ दिने क्रममा प्रचण्डले स्थायी कमिटीको बैठकमा व्यक्त विचारहरुले पार्टीलाई सुदृढीकरण गर्न, एकतालाई तीव्रता प्रदान गर्न र तीनै तहको सरकारलाई प्रभावकारी बनाइ देशलाई सही दिशामा अघि बढाउने मद्दत पुगेको विचार राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


प्रचण्डले बैठकमा विभिन्न विषयमा प्रष्ट्याउने र परिमार्जन गर्ने विषयहरुसमेत राखेका थिए । यस्तै विधान संशोधन प्रस्तावका सम्बन्धमा उठेका जिज्ञासाहरुका बारेमा महासचिव विष्णु पौडेलले जवाफ दिएका थिए ।

प्रचण्ड र पौडेलले जवाफ दिएपनि केही स्थायी कमिटी सदस्यहरुले फेरि प्रश्न उठाएका थिए । ती प्रश्नहरुबारे पनि दुबै नेताले जवाफ दिएपनि प्रश्नबारे थप प्रस्ट पार्नुपर्ने देखिएकाले स्थायी कमिटी बैठक भोलि बस्ने गरी स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।


प्रकाशित मितिः पौष ५, शनिवार, १८:३९