काठमाडौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १५२ केन्द्रीय सदस्यले तत्काल केन्द्रीय कमिटी बैठकको माग राख्दै पार्टी कार्यालयमा लिखित पत्र दर्ता गरेका छन् ।

एक महिनाभन्दा लामो समयदेखि जारी स्थायी कमिटी बैठक कुनै निष्कर्षमा पुग्न नसकिरहेका बेला केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठक माग राख्दै आज पार्टी कार्यालय धुम्बाराहीमा लिखित पत्र दर्ता गरेका हुन् ।

पार्टीमा पछिल्लो समय विवाद बढ्दै गएको तर सचिवालय र स्थायी समितिले त्यसको समाधान निकाल्न नसकेकाले उनीहरूले केन्द्रीय कमिटी बैठक माग गरेका हुन् ।

महासचिव विष्णु पौडेललाई हस्ताक्षर बुझाउने भनिए पनि उनी सहभागी नभएपछि पार्टी कार्यालयका सचिव श्रीराम ढकाललाई हस्ताक्षर बुझाइएको हो ।


नेकपाको विधानअनुसार २५ प्रतिशत अर्थात् १११ जना सदस्यले हस्ताक्षर गरि केन्द्रीय समिति बैठक माग गरे महिना दिनभित्र बैठक बोलाउनु पर्छ ।


प्रकाशित मितिः बुधबार, साउन १४, २०७७, १९:१७