काठमाडौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बुधबार बस्ने बैठक केही दिन पछाडि सार्न केपी ओली पक्षले प्रचण्ड–माधव पक्षसँग प्रस्ताव गरेको छ ।

कात्तिक २८ गते शुक्रबार सुरु भएको सचिवालय बैठक बुधबार दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी तय भएको थियो ।

बैठक केही दिनका लागि सार्ने प्रस्ताव लिएर आज नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवास पुगे । प्रचण्डले महासचिव पौडेलको प्रस्ताव स्वीकारेनन् ।

शुक्रबारको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले केपी ओलीमाथि विभिन्न आरोपहरु लगाउँदै १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका छन् ।


बुधबारको बैठकमा सो प्रस्तावमाथि छलफल हुनुपर्ने प्रचण्डको अडान भने ओली पक्षले चाहिँ प्रचण्डले सो प्रस्ताव फिर्ता लिनुपर्ने अडान राख्दै आएको छ ।

प्रचण्डले पेश गरेको प्रतिवेदनमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको समेत समर्थन छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर २ मंगलबार, १७:१५