काठमाडौंः त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित भएको छ ।

टियु क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको हो ।

जितको लागि २ सय ७ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९ ओभर ३ बलमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

नेदरल्यान्ड्सका जितका लागि बास डे लिडले अविजित ८१, बेन कुपरले ५५ र कप्तान पिटर सिलारले ३१ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले ४ तथा करण केसी, अभिनास बोहरा र कुशल मल्लले एक/एक विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन जोडेको थियो ।


नेपालका लागि कुशल भुर्तेलले ६२, उपकप्तान दीपेन्द्र सिंह ऐरीले ६०, सोमपाल कामीले अविजित २१, कप्तान ज्ञानेन्द्र मल्लले २०, कुशल मल्लले १८ र विनोद भण्डारीले अविजित ७ रन बनाए ।

नेदरल्यान्ड्सका लागि पिटर सिलार र विविअन किङ्गमाले समान २/२ तथा त्यस्तै बास डे लीड, आर्यन दत्तले १/१ विकेट लिए ।

यस जितसँगै नेदरल्यान्ड्सले नेपालसँग पहिलो खेलमा व्यहोरेको हारको बदला लिएको छ ।

पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो ।

यस जितसँगै नेदरल्यान्ड्सले ३ खेलमा ४ अंक जोडेको छ । नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ ।

नेपालको यो पहिलो हार हो । नेपालले ३ खेलमा ४ अंक जोडेको छ ।

नेपाल शीर्ष स्थानमा रहेको छ । २ खेलमा अंक विहीन मलेसिया पुछारमा रहेको छ ।

२०७८ साल वैशाख ७ गते मंगलबार