काठमाडौंः कोरोना भाइरसका कारण सात महिनादेखि नेपालमा चलचित्र निर्माणदेखि प्रदर्शनसम्म ठप्प छ । निषेधाज्ञा खुकुलो गर्दै सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिए पनि चलचित्र क्षेत्रमा लगाइएको प्रतिबन्ध हटेको छैन ।

तर, निर्माता तथा निर्देशकहरु सरकारले छायांकन अनुमति दिने आशमा धमाधम सामाजिक सञ्जालको माध्यमबाट नयाँ चलचित्रको घोषणा गरिरहेका छन् ।

यसबीच, सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्ने चलचित्रको पनि आज फूलपातीको शुभ दिन पारेर औपचारिक घोषणा गरिएको छ । सेलिब्रेटी नेपालको ब्यानरमा बन्ने चलचित्रको नाम ‘चिलगाडी’ राखिएको छ ।

चलचित्रको लागि केहि हप्ता अघि मुख्य अभिनेतामा नाजिर हुसेनलाई अनुबन्ध गरिएको थियो ।


। नाजिरको अपोजिट नायिकाको लागि रोल सुहाउने अभिनेत्रीको खोजि कार्य भई रहेको निर्माण टिमले जानकारी गराएको छ ।

सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने ‘चिलगाडी’ ले युवा पुस्ताको प्रतिनिधित्व गर्दै बिसेष संदेश समेत बोक्ने छ । चलचित्रले नेपाली समाजको कहालीलाग्दो यथार्थलाई प्रस्तुत गर्नेछ ।

चलचित्रको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । चलचित्र निर्देशक समाजका महासचिव समेत रहेका निर्देशक जनकदिप पराजुलीले चलचित्रको निर्देशन गर्नेछन ।

सागर प्रधानले छायांकन गर्ने चलचित्रको अन्य कलाकार तथा प्राबिधिकहरु फाईनल हुन बाँकि रहेको छ ।

फागुनमा फ्लोरमा जाने तयारीमा रहेको चलचित्र २०७८ सालको दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ७ शुक्रबार, १६:५१