काठमाडौँः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल भ्रमण ऐतिहासिक र नेपाली जनतासँग आत्मीयता बढाउन सफल भएको बताएका छन् । उनी दुईदिने नेपाल भ्रमण पूरा गरी शनिबार स्वदेश फर्केका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शनिबार मुक्तिनाथमा परम्परागत बाजा घेलिङ बजाएर स्वागत गर्दै सात झुमा। मुक्तिनाथमा डेढ घण्टा बिताएका मोदीले करिब २० मिनेट पूजाअर्चना गरेका थिए।

जनकपुरबाट शुक्रबार यात्रा थालेका उनको यो भ्रमण धार्मिक, सांस्कृतिक र राजनीतिक पृष्ठभूमिमा केन्द्रित रह्यो। उनी स्वदेश फर्कंदा भारतको कर्नाटक राज्यका जनता प्रदेश सरकार चुन्न मतदान गरिरहेका थिए।


। निर्वाचनको मौन अवधिमा उनको भ्रमण भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मोदीलाई औपचारिक बिदाइ गरेका थिए। नेपाल भ्रमणका क्रममा उनले जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन एवं विशेष पूजाअर्चना गरेका थिए।

‘मेरो नेपाल भ्रमण ऐतिहासिक रह्यो। यस भ्रमणले मलाई नेपाली जनतासँग आत्मीय हुने ठूलो अवसर प्रदान गर्‍यो। प्रधानमन्त्री केपी ओलीसँगको छलफल धेरै फलदायीरह्यो,’ उनले स्वदेश फर्कने क्रममा ट्विट गरेका छन्।

विकास परियोजनामा भारतले नेपालको हितमा सहयोग गर्ने उल्लेख गर्दै ट्विटमा उनले थपेका छन्, ‘यस भ्रमणमार्फत भारत–नेपाल सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ। म नेपाली जनता तथा नेपाल सरकारले देखाएको न्यानोपनका लागि आभार प्रकट गर्छु।’

परराष्ट्रमन्त्री ज्ञवालीले मोदीको दुईदिने नेपाल भ्रमण सबै दृष्टिकोणले सफल, ऐतिहासिक र सम्झनलायक भएको प्रतिक्रिया दिएका छन्। ‘उहाँको भ्रमण सम्बन्धको एक महत्त्वपूर्ण मोड सावित भएको छ,’ ज्ञवालीले भने।

उनले भ्रमणका क्रममा सम्बन्ध फराकिलो पार्न, सहयोगका नयाँ क्षेत्र पहिचान गर्न तथा विगतका सहमतिलाई प्रभावकारी कार्यान्वयनका पक्षमा नतिजा देखिने गरी काम गर्ने सहमति भएको उल्लेख गरेका छन्।

मन्त्री ज्ञवालीले रेलमार्ग, जलमार्ग र कृषिमा साझेदारी तथा विगतका सहमतिमा ठोस प्रगति हुने गरी आगामी असोजसम्म काम अघि बढाइसक्ने समयसीमा निर्धारण हुने बताए।

मोदीको भ्रमण पर्यटकीय दृष्टिले समेत महत्त्वपूर्ण भएको ज्ञवालीले बताए। भ्रमण सम्पन्न हुनुअघि जारी १६ बुँदे संयुक्त वक्तव्यमा भनिएको छ, ‘मित्रतामा गहिराइ बढ्नुका साथै समझदारी उच्च हुनेछ।

नेपालको व्यापार घाटा कम गर्न भारतले आफ्नातर्फबाट सहकार्य गर्ने पनि वक्तव्यमा उल्लेख छ। सन्धिलाई सुधार गर्ने, भारतीय बजारमा नेपाली उत्पादनको पहुँचलाई थप प्राथमिकता दिने र समग्र द्विपक्षीय व्यापार बढाउने विषयमा भएको सहमतिले नेपाल–भारत सम्बन्ध थप अन्तक्र्रियात्मक र व्यावहारिक बन्ने विश्वास वक्तव्यमा व्यक्त गरिएको छ।

नेपालमा निर्माण हुने क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई मार्ग उपलब्ध गराउने विषयमा समेत छलफल अघि बढाउने समझदारी दुई देशबीच भएको छ ।

नेपाली भूभागमा सिँचाइ, सधैं वर्षाको समयमा देखापर्ने बाढीको समस्या समाधानमा समेत संयुक्त टोलीले अनुगमन गर्दै समाधान गर्ने सहमति भएको संयुक्त वक्तव्यमा उल्लेख छ ।

‘विकास र समृद्धिका लागि भारत नेपालसँग काँधमा काँध मिलाएर अघि बढ्न तयार छ,’ मोदीले भने । रेल, सडक, एकीकृत जाँच चौकी, प्रसारण लाइन, पेट्रोलियम पाइपलाइनजस्ता कार्य अघि बढिसकेको भन्दै उनले भने, ‘भारत शेर्पाका रूपमा काम गर्न तयार छ ।’

उनले पर्यटन नेपालको प्रमुख आयस्रोत भएको उल्लेख गर्दै नेपालको समृद्धि र विकासका लागि पर्वतारोहीलाई शेर्पाले गरेको सहयोगको बयानसमेत गरे ।

प्रधानमन्त्री मोदीलाई काठमाडौंको ढोका सधैं खुला छ भन्ने सन्देशसहित उनलाई महानगरले कलात्मक चाबी (साँचो) हस्तान्तरण गरेको छ ।

मेयर विद्यासुन्दर शाक्यले साँचोसहित बुद्धको ५० किलोको मूर्ति र मयूर झ्याल पनि उपहार दिए । प्रदेश ३ का मुख्यमन्त्री, संघीय मन्त्रीहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूको सहभागितामा मोदीको अभिनन्दन गरिएको थियो ।कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।