इटहरीः नेपाल कम्युनिष्ट पार्टीका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले अहिले नेपालमा कम्युनिष्ट पार्टीको दुई तिहाइ बहुमतसहितको सरकारले शासन गरिरहेको दक्षिण एशियाली मुलुकमा सन्देश गएकाले यसलाई जोगाएर राख्नु नै नेपाली कम्युनिष्टको महत्वपूर्ण जिम्मेवारी भएको बताएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले आज सुनसरीको इटहरीमा नेपाल कम्युनिष्ट पार्टी सुनसरीले आयोजना गरेको पार्टी प्रशिक्षण एवं भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उक्त कुरा बताएका हुन् ।

नेपाली जनताको भाग्य र भविष्य सुन्दर बनाउँदै जाने प्रमुख उद्देश्यका साथ नेपालका भावना मिल्ने सम्पूर्ण कम्युनिष्टबीच एकता कायम हुने क्रम तीव्र बनिरहेको चर्चा गर्दै नेता पोखरेलले अहिलेको सरकारको पहिलो प्राथमिकता नै भ्रष्टाचाररहित सुशासन स्थापित गर्दै समृद्ध नेपाल र खुशी नेपाली समाज निर्माण गर्नु रहेको बताए ।


उनले यदि कसैले पार्टीको टोपी वा खोल ओढेर जनविरोधी भ्रष्टाचारको काम गर्न वा गराउन प्रेरित वा उक्साउने कार्य गर्छ भने त्यो आफैँ नाश भएर जाने समेत बताए ।

सोही अवसरमा उनले राप्रपा तथा अन्य विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुहुने नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरेका थिए ।