नेपालको राजनीतिमा कम्युनिस्ट नेता  मोहनबिक्रम सिंहको आफ्नै विशिष्ट पहिचान छ। नेपालका कम्युनिस्टहरुले गुरु मान्‍ने सिंह लोकतन्‍त्र स्ठापनापछिको खुला परिवेशमा पनि अर्धभूमिगत अवस्थामा छन् । आम कम्युनिस्ट नेताभन्दा उनको चरित्र र छवि फरक छ।अहिलेसम्म राज्यबाट कुनै पद एवं अवसर नलिएका उनको जीवनशैली अत्यन्‍त सरल छ। वाम गठबन्धन, आगामी चुनाव तथा समसायिक राजनीतिक विषयमा नेता सिंहसँग नेपाल ताराका लागि प्रकाश पोख्रेलले गरेको सम्वाद :

तपाईँलाई नेपाली कम्युनिष्ट आन्दोलनका भिष्म पितामह भनेर पनि सम्बोधन गरिन्छ। अहिले चुनावको पूर्वसन्धामा वामशक्ति र लोकतान्त्रिक शक्तिहरुबीच धु्रविकरण भएको छ ।


। नेपाली राजनीतिमा यसको दीर्घकालीन परिणाम के होला ?

अहिलेको धु्रविकरणलाई वाम र लोकतान्त्रिक शक्तिहरुका बीचको धुविकरण नै हो भनेर भन्न मिल्दैन । त्यसको अर्थ वामपन्थी शक्तिहरु लोकतान्त्रिक शक्तिहरुभन्दा बेग्लै हुन् भन्ने बुभिन्छ । नेपालको राजनीतिमा वामपन्थी शक्तिहरुले पनि लगातार लोकतन्त्रका लागि संघर्ष गर्दै आएका छन् र त्यसको लामो इतिहास छ । त्यो अवस्थामा यसलाई एकातिर वामपन्थी शक्तिहरु र अर्कातिर ने.काको नेतृतवमा बनेको गठबन्धन भन्नु नै बढी उपयुक्त हुनछ भन्ने मलाई लाग्दछ । वास्तवमा आज देशको राजनीतिमा एउटा धुविकरण अवस्य भएको छ।

एकातिर देशमा लोकतन्त्र गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षका पक्षमा उभिने शक्तिहरु छन् भने अर्कातिर एक वा अर्को प्रकारल ती सबै विषयहरुका विरुद्ध काम गर्ने शक्तिहरु छन् । वास्तवमा आज नेकाको नेतृत्वमा बनेको गठबन्धनले एक वा अर्को प्रकारले  लोकतन्त्र, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताका विरुद्ध हमला गर्ने काम गरिरहेका छन् । यी दुई शक्तिहरुका बीचको धु्रविकरण आजको राजनीतिक एउटा वास्तविकता हो ।

जहाँसम्म ने.का.को नेतृत्वमा बनेको गठबन्धन वा स्वयं ने.का.को सम्बन्ध छ।विगतमा कतिपय राजनीतिक समस्याहरुका लागि हामीहरुले उनीहरुले मिलेर संघर्ष गर्ने गरेका छौं जस्तै कि पंचायति तानाशाहीका विरुद्धको संघर्ष वा ०६२–६३ मा प्रतिगमनका विरुद्धको संघर्ष । तर पहिले मैले भनिसकेका विषयहरुमा जुन धु्रविकरणको स्थिति उत्पन्न भएको छ त्यो अवस्थामा नेकासित एकता होइन, संघर्ष नै आवश्यक भएको छ । चुनावमा उनीहरुको विजय भयो भने त्यसबाट लोकतन्त्र, गणतन्त्र, राष्ट्रयता र धर्म निरपेक्षतामा समेत गम्भीर आँच पुग्‍ने सम्भवना छ । त्यो अवस्थामा जसले आफूलाई लोकतान्त्रिक बताइरहेका छन्, उनीहरुले वास्तवमा लोकतन्त्रको पक्षमा होइन, त्यसका विरुद्धमा नै बढी काम गर्ने सम्भवना छ ।

वाम गठबन्धनको औचित्य के हो जस्तो लाग्छ ? केवल शक्ति आर्जनको लागि हो कि देशको कम्युनिष्ट शासनतर्फ उन्मुख हुन खोजेको हो ?

जसले आफूलाई वाम शक्तिहरु बताइरहेका छन्, उनीहरु मार्क्सवादी लेनिनवादी सिद्धान्त या कम्युनिस्ट पार्टीका मान्यताहरुबाट विचलित भइसकेका शक्तिहरु नै हुन् । त्यो अवस्थमा उनीहरुद्वारा देशमा कम्युनिष्ट शासनको स्थापनाको कुनै संभावना छैन र त्यो हुन पनि सक्दैन । निश्चय नै हाम्रो पार्टी, ने.क.पा. (मसाल)ले मार्क्सवादी लेनिनवादी सिद्धान्त र कम्युनिष्ट मान्यताहरुमाथि विश्वास गर्दछ र तिनीहरुको कायान्व्यन गर्नेपर्ने आवश्यकतामा जोड दिन्छ । तर हामीले पनि बारम्बार यो स्पष्ट गर्दै आएका छौं कि अहिलेको देशको विशिष्ट र ऐतिहासिक अवस्थामा कम्युनिष्ट शासनको स्थापना सम्भव छैन । अहिले हाम्रो पनि कार्यनीति लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्नेतिर नै छ । त्यो अवस्थामा ने.का. पक्षीय गठबन्धनले वाम गठबन्धनले चुनावमा जित्यो भने देशमा लोकतन्त्र समाप्त हुनेछ र कम्युनिष्ट शासन कायम हुनेछ वा कम्युनिष्ट अधिनायकवाद नै कायम हुनेछ भन्ने जुन प्रचार गरिरहेका छन्, त्यसमा कुनै आधार वा सत्यता छैन ।

यहाँले भर्खरै भन्‍नुभयो देशमा तत्काल कम्युनिष्ट शासनको स्थापनाको कुनै सम्भावना छैन । तर स्वयं तपाईँआफै अर्ध भूमिगतरुपमा कम्युनिष्ट शासन स्थापना गर्न संघर्ष गरिरहेको देखिन्छ । यहाँको कुरामा अलि विरोधाभाषा देखिएन र ?

हामीहरुले निश्चित रुपले देशमा साम्यवादी व्यवस्था ल्याउनका लागि संघर्ष गरिरहेका छौं । त्योभन्दा पहिले समाजवाद र देशको अहिलेको ऐतिहासिक अवस्थामा नयाँ जनवादी व्यवस्था ल्याउनका लागि हामीले संघर्ष गरिरहेका छौं । त्यो हाम्रो रणनीति हो । अहिलेको आधारभूत उद्देश्य हो । त्यसका लागि देशमा विद्यमान अर्धसामान्ती र अर्धऔपनिवेशिक व्यवस्थालाई समाप्त गर्नेपर्ने आवश्यकता छ र त्यसका लागि लामो क्रान्तिकारी आन्दोलनको आवश्यकता छ । तर कम्युनिष्ट पार्टीले आफ्नो कुनै कार्यक्रम कुनै खास अवस्थाको ऐतिहासिक र वस्तुगत स्थितिको विश्लेषण गरेर नै बनाउ“छ । अहिले हामीले तत्काल साम्यवाद र समाजवादको कुरा त परै छ, नयाँ जनवादी क्रान्तिलाई सफल पार्नसक्ने अवस्थामा पनि छैनौं ।

देशको अहिलेको आवश्यकता देशमा विद्यमान सामन्ती व्यवस्थालाई समाप्त गर्नु र देशको राष्ट्रियताको रक्षा गर्नु नै हुनेछ । देशमा चल्ने गरेका विभिन्न आन्दोलनहरुका कैयौं उपलब्धिहरु रहेका छन् । तिनीहरु मध्ये ०६२– ६३ को आन्दोलनका उपलब्धिहरु पनि धेरै महत्वपूर्ण छन् । त्यसको परिणाम स्वरुप नै संविधानसभाको चुनाव भयो, राजतन्त्र समाप्त भएर गणतन्त्रको स्थापना भयो । हाम्रो देशको राष्ट्रियताका अगाडि भारतीय विस्तारवादद्वारा लगातार खतरा छ । संविधानसभाले जुन संविधानको निर्माण गर्‍यो, त्यसलाई उनीहरुले समर्थन गरेका छैननन् र त्यसमा कैयौं संशोधनहरु गराउन खोजिरहेका छन् । ती संशोधनहरुको परिणामस्वरुप पहाडि भूभागबाट तराई बेग्लै हुनेछ । नागरिकता नीति झन् खुकुलो हुनेछ र अंगिकृत नागरिकहरुलाई पनि वंशजका नागरिक सरह अधिकार प्राप्त हुनेछ।

तराईलाई पहाडि भूभागबाट बेग्लै बनाउनुको उद्देश्य त्यसलाई स्वतन्त्र बनाउनु र अन्तमा भारतमा मिलाउनु नै हो । नागरिकता नीतिलाई खुकुलो पार्दै लैजानुको उद्देश्य नेपालका ठूलो संख्यामा भारतीयहरुलाई नागरिक बनाउँदै लैजानु र अन्तमा नेपालमा स्वयं नेपालीहरुलाई नै अल्पमतमा पार्नु हो । त्यसको परिणाम स्वरुप नेपाल फिजी बन्ने छ । अंगिकृत नागरिकहरुलाई वंशज नागरिक सरह अधिकार दिलाउनुको अर्थ उनीहरुलाई देशका उच्च पदहरुमा पुग्नका लागि बाटो खुला गर्नु हो । भारतद्वारा वा त्यसका तर्फबाट मधेशवादीहरुले जनसंख्याका आधारमा निर्वाचत क्षेत्रको निर्माणमा लगातार जोड दिने गरेका छन् । प्रथम संशोधन विधेयकले त्यसका लागि बाटो खुला पनि गरिसकेको छ । त्यसका पछाडिको उद्देश्य जनसंख्याका आधारमा तराईमा बहुमत निर्वाचन क्षेत्रहरु बनाएर संसदमा बहुमत बनाउनु र त्यसद्वारा सिक्किमको संविधानसभाले जस्तै नेपाललाई भारतमा मिलाउन निर्णय गर्न आधार तयार पार्नु हो । त्यही उद्देश्यले दोस्रो संविधान संशोधनको विधेयक संसदमा प्रस्तुत गरिएको थियो । त्यो अस्वीकृत भयो ।

तपाईँले भन्नुभयो कि हामीले नयाँ जनवादी शासन व्यवस्था स्थापनाका लागि संघर्ष गरिरहेका छौं । त्यो जनवादी शासन व्यवस्था भनेको कस्तो व्यवस्था हो ?

नयाँ जनवादी शासन व्यवस्था मूल रुपमा पूँजीवादी व्यवस्था नै हो । संसारका विभिन्न देशहरुमा चलेको पूँजीवादी प्रजातानित्रक क्रान्तिले सामन्ती व्यवस्थालाई समाप्त गर्दछ र पूँजीवादी अर्थतन्त्रलाई कायम गर्दछ । नेपालको अहिलेको अवस्थामा, खास गरेर पूँजीवादको विकास नभएको अवस्थामा एकैपल्ट समाजवादी व्यवस्थामा जानु सम्भव छैन । त्यसको लागि देशमा पहिले पूँजीवादी प्रजातान्त्रिक क्रान्ति सम्पन्न हुनु आवश्यक छ । नयाँ जनवादी क्रान्तिले नै देशमा पूँजीवादी प्रजातान्त्रिक क्रान्तिलाई सफल पार्न सक्नेछ ।

पूँजीवादी प्रजातान्त्रिक क्रान्तिको अर्थ हुन्छ एकातिर, सामन्तवाद र अर्कातिर, साम्राज्यवादका विरुद्ध संघर्ष नेपालमा राजतन्त्रको अन्त भयो । तर सामन्ती व्यवस्था अझै पनि कायम छ । प्रकट रुपमा नेपाल स्वतन्त्र छ । तर साम्राज्यवाद र भारतीय विस्तारवादको नियन्त्रण अझै विद्यमान छ । नेपालमा सही अर्थमा पूँजीवादी प्रजातन्त्र कायम गर्नका लागि एकातिर, सामन्तवाद र अर्कातिर, साम्राज्यवाद र भारतीय विस्तारवादको प्रभूत्वलाई समाप्त गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि उनीहरुका विरुद्ध लामो र क्रान्तिकारी संघर्ष गर्नुपर्ने आवश्यकता छ । तर त्यो कार्य कुनै सामन्तवाद, साम्राज्यवाद वा भारतपरस्त राजनीतिक शक्तिको नेतृत्वमा हुन सक्दैन । त्यो कार्य कम्युनिष्ट पार्टीको नेतृतवमा नै हुन सक्दछ।

कम्युनिष्ट पार्टीको नेतृत्वमा त्यो क्रान्ति हुने भएको हुनाले हामीले त्यसलाई नयाँ जनवादी व्यवस्था भनेका छौं । त्यो कालमा राष्ट्रिय पूँजीवादी वर्गको स्वामित्वका उद्योग धन्दाहरु वा किसानहरुको जमीनमाथिको स्वामित्व पनि कायम रहन्छ । अहिले देशमा कायम भएको गणतन्त्र पनि वास्तविक अर्थमा पूँजीवादी गणतन्त्र होइन । देशमा अर्धसामन्त वा अर्ध औपनिवेशिक व्यवस्था कायम हुँदासम्म वास्तविक अर्थमा पूँजीवादी गणतन्त्र नै कायम हुन सक्दैन । त्यही कारणले अहिलेको संविधान पनि वास्तविक अर्थमा पू“जीवादी संविधान होइन । तैपनि नेपालको अहिलेको विशिष्ट अवस्थामा अहिले कायम भएको राजतन्त्र निरंकुश राजतन्त्रभन्दा प्रगतिशील भएकोले हामीले त्यसलाई समर्थन गर्दछौं र त्यही प्रकारले संविधानलाई पनि सामान्यतः समर्थन गरेका छौं । संविधानमा सामेल गरिएको संघीयतासित हाम्रो विरोध छ । संघीयताका विरोध गर्दै हामीले वर्तमान संविधानमा सामेल गरिएका गणतन्त्र वा धर्मनिरपेक्षतालाई पनि समर्थन गरेका छौं ।

तपाईँले एकातिर संघीयताको विरोध गरिरहनु भएको छ भने अर्कातिर त्यही संघीय संरचना अनुसारको निर्वाचनमा सहभागि भइरहनु भएको छ । यसको तात्विक अर्थ के हो ?

सर्वप्रथम ता संघीय प्रणाली बारे नै केही स्पष्टताको आवस्थकाता छ । नीतिगत रुपमा हामीले संघीय प्रणालीको पूरै विरोध गर्दैनौं । संसारका कैयौं देशहरुमा संघीयता प्रणाली छन् र त्यहाँको विशिष्ट अवस्थामा तिनीहरुको औचित्यता वा उपयोगिता पनि छ । तर नेपालजस्तो सानो, पिछडिएको, बहुजातीय र तीनतिरबाट भारतीय विस्तारवादद्वारा घेरिएको देशका लागि संघीयता उपयुक्त छैन । वास्तवमा नेपाली जनताले वा नेपालका कुनै राजनीतिक पार्टीले, कम्युनिष्ट वा कांग्रेसले संघीयताको माग गरेर आन्दोलन गरेको कुनै इतिहास छैन । तर त्यो व्यवस्था भारतीय विस्तारवादद्वारा नेपालमा लादिएको हो । भारतीय विस्तारवादका तर्फबाट मधेशवादीहरुले त्यो नारा उठाए र भारतीय दवावमा बिना कुनै गृहकार्य नेपालका प्रमुख राजनीतिक दलहरुले त्यो व्यवस्थालाई अपनाए ।

संघीयताको परिणाम स्वरुप देशमा जातीय र क्षेत्रीय विग्रह तथा राष्ट्रिय विखण्डनको स्थिति उत्पन्न हुन्छ । संघीय व्यवस्थाले जतिजति नेपालमा प्रभाव पार्दै गइरहेको छ । त्यो क्रममा नै नेपालमा जातीय र क्षेत्रीय विग्रह वा राष्ट्रिय विखण्डनको स्थितिको पनि सृजना हुँदै गइरहेको छ । त्यसैले हामीले सुरुदेखि नै त्यसको विरोध गर्दै आएका छौं । तै पनि संविधानमा संघीय व्यवस्था कायम गरिएको भए पनि हामीले अहिले बनेको संविधानलाई समर्थन गरेका छौं । किनभने संघीयताको विरोधको नाममा गणतन्त्रको पनि विरोध गर्नु सही हुँदैनथ्यो ।

संविधानमा व्यवस्था गरिएको प्रादेशिक संरचना संघीयताको प्रधान पक्ष हो । संविधानको निर्माण गर्ने बेलामा हामीले त्यस प्रकारको संघीय संरचनालाई पूरै खारेज गर्नुपर्ने संशोधन राखेका थियौं । तर संविधानसभामा हाम्रो पर्याप्त बहुमत नभएको हुनाले त्यसलाई खारेज गराउन हामी असफल भयौं । तैपनि अहिले संघीय व्यवस्था अनर्गत र प्रादेशिक सभाहरुको पनि जुन चुनाव भइरहेको छ त्यसमा हामीले भाग लिइरहेका छौं । त्यसको ठीक अर्थ बुझ्न संसदीय प्रणाली प्रतिको हाम्रो दृष्टिकोण र नीतिलाई बुझ्नु पर्दछ । सिद्धान्ततः हामीले कहिल्यै पनि संसदीय प्रणालीलाई स्वीकार गर्दैनौं र गरेका पनि छैनौं । त्यो व्यवस्थालाई हामीले सिद्धान्ततः स्वीकार गरेर होइन, त्यसमा सहभागि भएर जनताको चेतना उठाउने, जनताका बीचमा संगठनको विस्तार गर्ने वा विरोधी राजनीतिक शक्तिहरुको भण्डाफोर गर्ने उद्देश्यले नै हामीले त्यसमा भाग लिने गरेका छौं । त्यही कुरा अहिलेको संघीय संरचना वा त्यस अन्तर्गतको प्रादेशिक संरचनको चुनावका सन्दर्भमा पनि सत्य हो । हामीले नीतिगत रुपमा तिनीहरुलाई स्वीकार गर्दैनौं । तर स्वयं तिनीहरुका विरुद्ध संघर्षलाई अगाडि बढाउन र जनताको चेतना उठाउन नै हामीले तिनीहरुमा भाग लिने गरेका छौं ।

पाईले भन्‍नु भए जस्तै नेकपा एमाले र माओवादी केन्द्र सैद्धान्तिक रुपले कम्युनिष्ट पार्टी रहेनन् । तर अहिले उनीहरुसँगको गठबन्धनमा तपाईँको पार्टी पनि सामेल छ। अनि कसरी फरक भयोत ?

हामीले आन्दोलन वा देशको आवश्यकतानुसार राजनीतिक रुपमा समानता नभएका कैयौं पक्षहरुसित पनि कार्यगत एकता वा चुनावी तालमेल गर्ने गर्दछौं । जस्तो कि माथि मैले भनिसके कैयौंपल्ट हामीले नेकासित पनि कार्यगत एकता गरेका छौं । ०६२–६३ को आन्दोलनमा मधेशवादीसित पनि हामीले कार्यगत एकता गरेका थियौं । महाकालि सन्धीका विरुद्ध राप्रपासित पनि कार्यगत एकता गरेका थियौं । राजा महेन्द्रका पूर्वपश्चिम राजमार्ग वा कोदारी मार्गको निर्माण गर्ने कार्यहरुलाई पनि हामीले समर्थन गरेका थियौं । त्यसरी आधारभूत रुपमा नै सैद्धान्तिक वा नीतिगत भिन्नता भएका राजनीतिक शक्तिहरुसित पनि कुनै खास बेलामा परस्परमा सहमति भएका प्रश्नहरुका हामीले कार्यगत एकता गर्ने नीति अपनाउँछौं ।

स्थानीय चुनावका बेलामा हामीले ने.का.सित पनि चुनावी तालमेल गरेका थियौं । प्यूठानमा नै एकाध स्थानमा उनीहरुसित तालमेल भएको थियो । त्यही सन्दर्भमा नै अहिले एमाले र माओवाद केन्द्रसित भएको चुनावी तालमेललाई पनि बुझ्नु पर्दछ । सैद्धान्तिक र राजनीतिक रुपमा उनीहरुसित हाम्रा गम्भीर प्रकारका मतभेदहरु छन् । तै पनि कैयौंपल्ट हामीले उनीहरुसित कार्यगत एकता वा चुनावी तालमेल गर्ने गरेका छौं । प्रचण्डले केपी शर्मा ओलीको सरकारलाई अपदस्थ गराएर ने.का.सित गठबन्धन गर्ने वा संसदमा दोस्रो संविधान संशोधन विधेयक प्रस्तुत गर्ने जुन कार्य गरे, त्यसको हामीले विरोध गरेका थियौं । तर त्यसबाट अलग हुने जुन निर्णय गरे, त्यसलाई हामीले समर्थन गरेका छौं । गतकालमा एमाले वा माओवादी केन्द्रका विरुद्ध हामीले कैयौंपल्ट संघर्ष गर्ने गरेका छौं । तर हामीले कहिल्यै पनि कुनै राजनीतिक शक्तिसित कुनै पूर्वाग्रह नराखिकन आवश्यकतानुसार एकता वा संघर्षको नीति अपनाउँछौं । उनीहरुले कम्युनिष्ट पार्टीको निर्माण गर्ने जुन घोषणा गरेका छन्, त्यससित हाम्रो मतभिन्नता छ । देशमा एकीकृत कम्युनिष्ट पार्टीको निर्माणको आवश्यकतालाई हामीले सिद्धान्ततः स्वीकार गर्दछौं । तर के उनीहरुद्वारा त्यस प्रकारको पार्टीको निर्माण सम्भव होला ? त्यसमाथि हामीले विश्वास गरेका छैनौं ।

अहिले वाम गठबन्धनलाई एकथरी राजनीतिक विश्लेषकहरुले तासको घरको रुपमा संज्ञा दिएका छन् । तपाईँलाई के लाग्दछ ?

भविष्यमा उनीहरुको अवस्था के हुनेछ ? त्यो कुराको चर्चा गर्नेतिर हामी लाग्दैनौं । तर तत्कालका लागि, जस्तो कि मैले भनिसके, त्यसको सकारात्मक राजनीतिक महत्व छ ।

प्रचण्डहरुले अहिले भनेजस्तो के नेपालमा कम्युनिष्ट शासन स्थापना हुन सक्दैन त ?

हाम्रो कोसिस कम्युनिष्ट शासन कायम गर्नेतिर नै छ । बुर्जुवाहरुका लागि त्यस प्रकारको शासन व्यवस्था अत्यन्त नराम्रो कुरा हुनेछ । तर व्यापक जनताको हितमा त्यो राम्रो व्यवस्था हो र त्यसले जनतामाथि भएका सबै शोषण, उत्पीडनहरुको अन्त्य गर्नेछ । तर त्यसो भएपनि त्यसका लागि आवश्यक जनचेतना वा जनशक्तिको निर्माण भइसकेको छैन । प्रतिक्रियावादीहरुले फैलाएका कैयौं भ्रमहरु अझै जनतामा विद्यमान छन् । तिनीहरुलाई साफ गर्न लामो समय लाग्ने छ । त्यसैले हामीले तत्काल कम्युनिष्ट शासन व्यवस्थाको स्थापना गर्नु सम्भव देख्दैनौं । कम्युनिष्ट शासन व्यवस्था भन्ने कुरालाई पनि हामीले अमूर्त अर्थमा लिनु हुन्न । त्यो साम्यवादी व्यवस्था पनि हुन सक्दछ वा समाजवादी र नयाँ जनवादी व्यवस्था पनि हुन सक्दछन् । कतिपय देशहरुमा बुर्जुवा प्रणाली अन्तर्गत नै त्यसको सिमाभित्र रहेर कम्युनिष्टहरुको सत्ता पनि कायम हुन सक्दछ । तर अहिले ने.का.ले कम्युनिष्ट शासनको नाममा जुन हौवा पैदा गरेको छ, त्यसमा कुनै सत्यता छैन ।

नेपालमा कम्युनिष्टहरु धेरैपल्ट सत्तामा पुगेका छन् । कैयौंपल्ट उनीहरुको बहुमत पनि कायम भएको छ । तर ती सबै कालमा ने.का.ले हल्ला गरेजस्तो कुनै कम्युनिष्ट शासन त कायम भएन । त्यसैले उनीहरुले जुन रुपमा कम्युनिष्ट शासनको हल्ला गरेका छन् त्यसका पछाडिको उद्देश्य उनीहरुले नेपालमा लोकतन्त्र गणतन्त्र, राष्ट्रियता वा धर्म निरपेक्षत माथि आँच पुर्याउने जुन प्रयत्न गर्दैछन् त्यस प्रकारका कार्यहरुमाथि पर्दा हाल्ने एउटा प्रयत्न मात्र हो । वास्तवमा आज देशमा लोकतन्त्र समाप्त हुनेछ र तानाशाही व्यवस्था कायम हुने खतरा वामपन्थीबाट होइन, स्वयं ने.का. र त्यसको तत्वाधानमा बनेको गठबन्धनबाट नै छ । अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा राजासित साठगा“ठ गरेर संसदीय प्रणालीलाई समाप्त पार्न वा देशलाई प्रतिगमनतिर लैजान प्रयत्न गरेका कैयौं उदाहरणहरु हाम्रा अगाडि छन् । त्यस प्रकारको पृष्ठभूमिमा ने.का.द्वारा लोकतन्त्रलाई समाप्त गरेर देशमा एका वा अर्को प्रकारको तानाशाही व्यवस्था कायम गर्ने सम्भावना प्रति आँखा चिम्लनु सही हुने छैन ।

यस सन्दर्भमा अर्को एउटा तथ्यप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । वी.पी. कोइराला, गणेशमान सिंह वा गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्रलाई अग्रगमनको दिशामा लैजान संघर्ष गरेको इतिहास हाम्रो अगाडि छ । तर त्यसको ठीक विपरित देउवाले देशलाई बारम्बार प्रतिगमनको दिशामा लैजान प्रयत्न गरेका उदाहरणहरु पनि हाम्रा अगाडि छन् । त्यसरी के भन्न सकिन्छ भने अहिलेको ने.का. वी.पी., गणेशमान वा गिरिजाप्रसादको ने.का.भन्दा बेग्लै छ ।

तपाईँलाई कम्युनिष्टका गुरु भनेर चिनिन्छ । तर यहाँकै चेलाहरुले मोहनविक्रम सिंह एक जडसूत्रवादी नेता भनेर आरोप लगाउने पनि गरेका छन् । किन यहाँले देशका सबै कम्युनिष्टहरुलाई गोलबन्द गरेर नेतृत्व दिन सकिरहनु भएको छैन ?

जडसूत्रवादको आरोप तथ्यहरुसित मेल खाँदैन । जडसूत्रवादको अर्थ हुन्छ सिद्धान्तहरुमा कट्टरपन्थीता वा आवश्यकतानुसार कार्यनीतिक रुपमा पनि त्यसमा लचिलो हुन नसक्नु । तर हामीहरु आवश्यकतानुसार आफ्ना नीतिहरुमा बारम्बार लचिलो हुने गरेका छौं । राजा महेन्द्रका पूर्वपश्चिम राजमार्ग र कोदारी राजमार्गको निर्माणलाई समर्थन गर्नु, ने.का.सित बारम्बार कार्यगत एकता गर्नु, महाकाली सन्धिका विरुद्ध राप्रपासित पनि कार्यगत एकता गर्नु, संघीयताको प्रश्नमा मतभेद हुनुका बाबजुद वर्तमान संविधान वा गणतन्त्र समेतलाई समर्थन गर्नु । वारम्बार कडा विरोध वा संघर्षको स्थिति भएता पनि माओवादी वा एमालेसित कार्यगत एकता वा चुनावी तालमेलको नीति अपनाउनु आदि प्रश्नहरुबाट हाम्रो पार्टी जडसूत्रवादी नभएको कुरामा कुनै शंका रहन्न ।

जहाँतक देशका विभिन्न राजनीतिक शक्तिहरुलाई एकसूत्रमा बाध्‍ने प्रश्न छ, त्यो कार्य बाहिरबाट जति सरल देखिन्छ, वास्तवमा त्यति सरल छैन । त्यस प्रकारको एकताका लागि सर्वप्रथम सैद्धान्तिक र राजनीतिक प्रश्नहरुमा एकता हुन आवश्यक छ । तर अहिलेको विभिन्न वाम घटकहरुका बीचमा बेग्लाबेग्लै प्रकारका जुन वैचारिक भिन्नताहरु देखापरेका छन् तिनीहरुलाई हल गर्नु त्यति सजिलो छैन । तर त्यो स्थितिमा पनि हामीले बारम्बार तात्कालिक प्रश्नमा समझदारी हुनसक्ने विषयहरुमा बारम्बार अन्य पक्षहरुसित काम गर्ने प्रयत्न गरेका छौं ।

मोहनविक्रम सिंहजस्तो सिद्धान्तनिष्ट नेता पनि परिवारवादबाट मुक्त हुन नसेकको आरोप छ नि ? अरु नेताहरुलाई पन्छाएर आफ्नो श्रीमती दुर्गा पौडेललाई चुनावी प्रतिस्पर्धामा पठाउनु भएको आक्षेप पनि छ ?

पहिले परिवारवाद भनेको के हो ? त्यसलाई सही सन्दर्भमा बुझ्नुपर्ने आवश्यकता छ । प्रथमतः देशका धेरैजसो नेताहरुले आफ्नो परिवार वा पत्नीहरुलाई आफ्नो पार्टी वा राजनीतिक कार्यहरुबाट अलग राख्ने गरेका छन् । तर हाम्रो मान्यता के छ भने पार्टीका नेताहरुले, खास गरेर कम्युनिष्ट नेताहरुले वा कार्यकर्ताहरुले आफ्ना परिवारका व्यक्तिहरु वा छोराछोरीहरुलाई पनि पार्टी वा राजनीतिक कार्यहरुमा सक्रिय पार्ने प्रयत्न गर्नुपर्दछ । त्यस सन्दर्भमा सर्वप्रथम यो प्रश्न उठ्दछ , आफ्नो परिवारका व्यक्तिहरुलाई पार्टी, राजनीतिक वा आन्दोलनहरुमा सक्रिय पार्ने सही वा उनीहरुलाई ती सबैबाट अलग राखेर घर गृहस्थी वा अन्य पेशामा मात्र लगाइराख्नु । त्यसरी विचार गर्ने हो भने मैले आफ्ना परिवारका व्यक्तिहरुलाई सम्भव भएसम्म पार्टी र आन्दोलनको नजिक ल्याउने प्रयत्न गरेको छु । जहाँसम्म दुर्गाको प्रश्न छ उनी मेरी पत्नीको नाताले चुनावमा उठेकी होइनन्, उनको आफ्नै राजनीतिक पृष्ठभूमि र व्यक्तित्व छ । मसित विवाह हुनुभन्दा करिब १५–१६ वर्ष पहिलेदेखि नै पार्टी वा राजनीतिक आन्दोलनहरुमा, पञ्चायती व्यवस्थाको कालदेखि भूमिगत वा खुला रुपले काम गर्दै आएकी थिइन् । आफ्नो त्यस प्रकारको कार्यका आधारमा नै उनी महिलासंघ की अध्यक्ष बनेकी थिइन् । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष र संविधानसभामा समानुपातिक तर्फबाट सभासद् पनि । त्यस प्रकारको अवस्थामा खालि मेरी पत्नी भएको नाताले मात्र उनलाई चुनाव वा अरु सबै अवसरबाट बञ्चित गर्नुपर्दछ भन्ने कुरा सही हुन्छजस्तो लाग्दैन ।

नाताकै कुरा गर्ने हो भने का. चित्रबहादुर के.सी. मेरो नजिकको नाता पर्नुहुन्छ । का. गोविन्दसिंह थापा मेरो साख्खै मामा पर्नुहुन्छ । त्यही प्रकारका अरु पनि थुप्रै मेरो नाता पर्ने व्यक्तिहरु हाम्रो संगठनका विभिन्न तहहरुमा आवद्ध हुनुहुन्छ । के त्यो परिवारवाद हुन्छ ? यदि परिवारको सिद्धान्तलाई यान्त्रिक रुपले मान्ने हो भने हाम्रो पार्टी वा परस्परमा नाता पर्ने कैयौं व्यक्तिहरु संगसंगै पार्टीका विभिन्न पदहरुमा छन् । के ती सबैलाई आपसमा नाता परेको हुनाले पार्टीबाट या पार्टीका विभिन्न पदहरुबाट हटाउनु सही हुन्छ ? त्यसरी समग्ररुपमा के भन्न सकिन्छ भने दुर्गा पौडेलको सन्दर्भमा परिवारवादको जुन कुरा उठेको छ त्यो निराधार छ ।

एउटा पाको कम्युनिस्ट नेताको नाताले अब यो मुलुकको राजनीतिक भविष्य कस्तो देखिरहनु भएको छ ?

वास्तवमा आज देशको स्थिति बाहिरबाट जति सरल देखिन्छ, त्योभन्दा कैयौं गुणा बढी गम्भीर छ । एकातिर देशको लोकतन्त्र र अर्कातिर राष्ट्रियता दुवै गम्भीर खतराको मुखमा उभिएका छन् । संविधानसभाले पारित गरेको संविधानमा सामेल गरिएका गणतन्त्र र धर्मनिरपेक्षता दुवैका अगाडि गम्भीर खतरा पैदा भएको छ । अर्कातिर देशको राष्ट्रियता र स्वतन्त्र अस्तित्वमा पनि गम्भीर खतरा पैदा भएको छ । अहिलेको स्थितिमा त्यस प्रकारको खतराको मुख्य स्रोत भारतीय विस्तारवाद नै हो । त्यसले एकातिर नेपालका राजावादी र कट्टर हिन्दूवादीहरुलाई मद्दत गरिरहेको छ भने अर्कातिर मधेशवादीहरुलाई प्रोत्साहित गरेर नेपालको राष्ट्रियताका विरुद्ध हमला गर्ने काम गरिरहेको छ । ने.का.ले आगमी चुनावमा बहुमत वा दुईतिहाई प्राप्त गरेर पहिले संसदद्वारा अस्वीकृत भएको संविधान संशोधन विधेयकलाई पारित गराउने जुन प्रतिवद्धता प्रकट गरेको छ, त्यसले स्थितिलाई अरु गम्भीर बनाउँछ । बताइरहनुपर्ने आवश्यकता छैन नेपालमा अहिले ती दुवै प्रकारका खतराहरुको मुख्य माध्यम ने.का. र त्यसको नेतृत्वमा बनेको गठबन्धन नै भएको छ ।

अहिले बनेको वाम गठबन्धनले त्यस प्रकारको खतरालाई पूरै रोक्न सक्नेछ भनेर सोच्नका लागि आधार छैन । गतकालमा उक्त प्रश्नहरुमा उनीहरुपनि कैयौंपल्ट ढुलमुल रहने गरेका छन् । तैपनि अहिलेको खास स्थितिमा, खास गरेर अहिलेको चुनावको सन्र्भमा उनीहरुको पक्ष वा उनीहरुले खेलिरहेको भूमिका बढी सकारात्मक भएको कुरा स्पष्ट छ । तैपनि स्थायी रुपमा त्यो गठबन्धनमाथि पूरै भर गर्नु सही हुने छैन । त्यसकारण देशमा एकातिर लोकतन्त्र, अर्कातिर राष्ट्रियताका अगाडि पैदा भएको खतराका विरुद्ध व्यापक जनचेतना उठाएर र तलैदेखि व्यापक जनआन्दोलन संगठित गर्ने प्रयत्न गरेर नै हामीले त्यो खतरालाई रोक्न सक्ने छौं र रोक्नु पनि पर्नेछ । तर त्यसको एउटा अर्को उज्ज्वल पक्ष पनि छ । भारतले सरदार पटेलको समयदेखि नै नेपाललाई भारतमा गाभ्नका लागि प्रयत्न गर्दै आएको छ । त्यसको नविनतम कडी पहाडबाट तराईलाई अलग गरेर त्यहाँ बेग्लै प्रदेशहरु बनाउनु हो । उनीहरुले खालि एउटै तरिकाले मात्र आफ्नो विस्तारवादी नीतिलाई अगाडि बढाउँदैनन् । उनीहरुले बेग्लाबेग्लै तरिका वा माध्यमद्वारा आफ्ना उद्देश्यहरु पूरा गर्ने प्रयत्न गर्दछन् । त्यो तरिका मध्ये एउटा मुख्य हो : नेपालका बेग्लाबेग्लै राजनीतिक शक्तिहरुलाई किन्ने । अहिलेको चुनावलाई पनि उनीहरुले आफ्नो उद्देश्य पूर्तिको एउटा मुख्य माध्यम बनाएका छन् ।

अझ स्पष्ट शब्दमा भन्ने हो भने एउटा निर्णयात्मक माध्यम नै त्यो चुनावमा उनीहरु पक्षका राजनीतिक संगठनहरुले बहुमत प्राप्त गर्न सकेमा आफ्ना विस्तरावादी नीतिहरु पूरा गर्न उनलाई धेरै सजिलो हुनेछ । तर कुराको अर्को पक्ष पनि छ वा, पहिले भनिए जस्तै अर्को उज्ज्वल पक्ष । नेपालका जनताले आफ्नो राष्ट्रिय जागरण वा आन्दोलनको बलमा भारतका विस्तारवादी योजनाहरुलाई बारम्बार असफल पार्दै आएका छन् । अर्कातिर नेपालमा लोकतन्त्रलाई समाप्त गरेर देशलाई प्रतिगमनतिर लैजाने षडयन्त्रहरुलाई पनि नेपाली जनताले बारम्बार असफल पार्ने र लोकतान्त्रिक आन्दोलनलाई अरु उच्चस्तरमा लैजाने कार्य गर्दै आएका छन् । त्यसरी एकातिर लोकतन्त्र र अर्कातिर राष्ट्रियताका पक्षमा नेपाली जनताको गौरवपूर्ण इतिहास रहेको छ । त्यसका आधारमा भविष्यमा पनि लोकतन्त्र वा राष्ट्रियताको रक्षाका लागि वा ती दुवैलाई अरु सुदृढ पार्नका लागि उनीहरु लगातार संघर्षमा अगाडि बढिरहनेछन् भन्ने कुरामा हामीलाई विश्वास त्यसरी गतकालमा झै हामीहरु सफल हु“दै जानेछौं भन्नका लागि पनि आधार छ ।

अन्तमा यहाँको राजनीतिक यात्राको प्रसंग गासौं । यहाँ एक प्यूठानको सभ्रान्त परिवारमा जन्मनु भयो । तर कसरी यो कम्युनिस्ट आन्दोलनमा आफूलाई समर्पित गर्नुभयो ?

माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरु पढ्दै गएपछि नै ममा कम्युनिष्ट दर्शन र आन्दोलनप्रति आस्था बढ्दै गयो । त्यसले नै मलाई कम्युनिष्ट आन्दोलनमा दृढतापूर्वक र लगातार बढ्नका लागि प्रेरणा र शक्ति दियो ।

अन्तमा, आगामी चुनावलाई कसरी नियालिरहनु भएको छ ?

आज देशमा जुन लोकतन्त्र कायम भएको छ त्यो पनि पर्याप्त छैन र त्यसलाई अरु उच्च र क्रान्तिकारी रुपमा विकसित गर्नुपर्ने आवश्यकता छ भन्ने हाम्रो मान्यता छ । नेपाल बाह्य रुपमा स्वतन्त्रजस्तो देखिए पनि वास्तविक अर्थमा त्यो स्वतन्त्र छैन । किनभने त्यो साम्राज्यवाद र विस्तारवादको प्रभूत्वमा छ । तैपनि अहिले देशमा जे जति लोकतन्त्र कायम भएको छ वा जुन सिमासम्म नेपाल स्वतन्त्र छ त्यसको रक्षा गर्नु अहिलेको हाम्रो राष्ट्रिय दायित्व भएको छ। एकातिर भारतीय विस्तारवाद र अर्कातिर ने.का.को नेतृत्वमा बनेको गठबन्धनद्वारा हाम्रो देशको लोकतन्त्र र राष्ट्रियतामा गम्भीर खतरा उत्पन्न भएको छ । त्यसकारण लोकतन्त्र र राष्ट्रियता दुवैको रक्षाका लागि ने.का.को नेतृत्वमा बनेको गठबन्धनलाई चुनावमा पराजित गर्नु अहिलेको राष्ट्रिय आवश्यकता भएको छ । त्यसको लागि मैले सम्पूर्ण जनतासित अपिल गर्दछ ।