काठमाडौंः तपाईंले सवारी साधनको चालक अनुमतिपत्र लिनका लागि कति समय कुर्नुभयो ? पक्कै पनि नौ महिना वा वर्षदिनभरि कुर्नुभयो होला ।

सरकारले सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्डमा रूपान्तरण गर्ने योजना अगाडि सारे पनि प्रविधिको अभावमा लामो समयदेखि अनुमतिपत्रका लागि प्रतीक्षा गरिरहनु परेको छ ।

नेपालका आफ्नै प्रविधिको अभावमा त्यसखालको समस्या भोग्नुपरेको भन्दै सूचना प्रविधिको क्षेत्रमा अब्बल विश्वप्रसिद्ध अमेरिकन कम्पनी जेब्राको सहयोगमा मालिका इन्कर्पोरेट कम्पनीले सवारी साधानको अनुमतिपत्र लिने प्रक्रियालाई सहज बनाउने प्रविधि नेपालमा भित्र्याएको छ ।


सूचना प्रविधिलाई अधिकतम प्रयोग गरेर स्वास्थ्य, शिक्षा, बैंक तथा वित्तीय संस्था, राष्ट्रिय महत्वका सूचना संकलन तथा सम्पादनका क्षेत्रमा अग्रेणी सेवा पु¥याउने लक्ष्य राखिएको छ ।

स्मार्ट सवारी साधन अनुमतिपत्रको प्रतीक्षामा रहेका ११ लाख सवारी धनीलाई तीन महिनाभित्रै नेपालमा नै उपलब्ध गराउन सकिने मालिका इन्कर्पोरेट कम्पनीका अध्यक्ष टीकाराम जोशीले जानकारी दिएका छन् ।

यस्तै लालपूर्जा, सवारी साधन दर्ता पुस्तिकालाई समेत स्मार्ट बनाउन सकिने र स्वास्थ्य सेवालाई समेत सहज, सरल बनाउनका लागि स्मार्ट प्रविधिको प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ ।

यस्तो प्रविधिले ट्राफिक प्रहरीले सहजै अनुमतिपत्रको अध्ययन गर्ने, जरिवानाका लागि बिल काट्ने प्रविधि पनि उपयोगमा ल्याउन सकिनेछ ।

यस्तै निर्वाचन आयोगले वितरण गर्ने मतदाता परिचयपत्रलाई समेत स्मार्ट बनाउन सकिनेछ भने राष्ट्रिय परिचयपत्रसमेत नेपालभित्रै छाप्न सकिने मालिका इन्कर्पोरेटले जनाएको छ ।

यस्तै विद्यार्थी परिचयपत्रलाई समेत स्मार्ट बनाउन सकिने सो कम्पनीले जनाएको छ । विद्यार्थी विद्यालय गए वा गएनन्, कति समय विद्यालयमा बसेजस्ता सामान्य सूचनासमेत मोबाइल एप्लिकेशनमार्फत अभिभावकलाई जानकारी दिन सकिनेछ ।