विज्ञान र प्रविधि देश विकासको एक मुख्य हतियार हो । विज्ञान र प्रविधिको प्रयोग तथा विस्तारले समयानुसार परिवर्तन सहज तथा सरल हुनेगरेको छ । विज्ञानका विविध विषयले उल्लेखनीय विकास गरिसकेको वर्तमान समयमा कुनैपनि देशको आर्थिक, सामाजिक तथा भौतिक विकासका लागि विज्ञान तथा प्रविधिलाई सशक्त माध्यम मानिएको छ । विज्ञान प्रविधिको विकासले हरेक पाइलामा सफलताको उधाहरण छोड्दै गएको छ ।

विज्ञान प्रविधिको महत्वलाई बुझेर विकसिन राष्ट्रहरुले यसलाई उच्च प्राथमिकताका साथ अघि बढाई रहेका छन् भने नेपालजस्ता विकासोन्मुख राष्ट्रहरु यसतर्फ केन्द्रित हुँदै गएका छन् । नेपालमा पनि सरकारले विज्ञान तथा प्रविधिको महत्वलाई प्राथमिकताका साथ अघि सार्दै २०७० साल देखि हरेक वर्ष असोज १ गतेका दिन विज्ञान दिवस मनाउने गरेको छ ।


। वर्तमान समयमा नेपालमा समेत विज्ञान तथा प्रविधिको क्षेत्रमा अधिक संख्यामा गुणस्तरीय जनशक्ति उत्पादन हुन सुरुभएको छ । चिकित्साशास्त्र, ईञ्जिनियरिङ्ग तथा सूचना प्रविधि विषयमा नेपालमा अन्तराष्ट्रिय स्तरकै प्रतिष्ठित अध्ययन संस्थानहरुले गुणस्तरीय शिक्षा दिँदै जनशक्ति उत्पादन गर्दै आएको छ । तर आवश्यकता अनुसारका अवसर देशमा नहुँदा यी जनशक्ति विदेशिन बाध्य भएका छन् ।

विगत र वर्तमान स्थिति

नेपाल सरकारले पहिलो पञ्चवर्षीय योजना (२०१३-२०१८) देखीनै विज्ञान र प्रविधिको विकास योजनालाई समावेश गरेको थियो । त्यसपछिका पञ्चवर्षीय योजनामा लगातार विज्ञान र प्रविधिको विकासमा आधारित योजना पर्दै गए ।

विश्व बैंकको तथ्याङ्ग अनुसार सन् १९७५ देखि हालसम्म नेपालले अनुसन्धान र विकासमा गरेको लगानी औसतमा वार्षिक जीडीपीको ०.३ प्रतिशतमात्र छ । यो अन्य विकसित मुलुकले गरेको लगानी (इजरायल ४.२७, दक्षिण कोरिया ४.२३, जापान ३.२८, जर्मनी २.८८, चीन २.०७, अमेरिकामा २.७९, भारत ०.६३ प्रतिशत) को दाँजोमा अति नै न्युन हो ।

हाल नेपालमा विज्ञान र प्रविधिको क्षेत्रमा सेवामूलक ८, अनुसन्धान तथा विकासको काम गर्ने १४ वटा र उच्चशिक्षा प्रदायक ९ वटा सरकारी तथा अर्धसरकारी संस्था छन् ।

सरकारले आर्थिक वर्ष २०७५/७६ मा शिक्षा, विज्ञान तथा प्रविधि तर्फ १ खर्ब ३४ अर्ब ८७ लाख रकम विनियोजन गरेको छ । यो बजेट गत वर्षको भन्दा ८ अर्ब मात्र बढी हो । विज्ञान प्रविधि तर्फ सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापनालाई प्राथमिकतामा राखेको छ ।

आवश्यकता

कुनै पनि मुलुकको समग्र विकासका लागि विज्ञान प्रविधिको विकास हुनु अति आवश्यक मानिन्छ । विज्ञान प्रविधिले मुलुकको सामाजिक, आर्थिक विकासमा अहम् भूमिका निर्वाह गरेको हुन्छ । विज्ञान प्रविधिको समुचित विकासले नै गरिबी निवारण गर्न, कृषि व्यवसायको आधुनिकीकरण गरी जनताको जीवनस्तर माथि उकास्न, रोजगारी सिर्जना गर्न, वातावरणीय विनाशलाई  रोक्न जस्ता विभिन्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । यसले कृषि र कृषिमा आधारित आधुनिक उपकरण, जैविक प्रविधिको संरक्षण र विकास, वन र वनस्पतिजन्य औषधिको पहिचान एवम् प्रशोधन, वैकल्पिक ऊर्जा स्रोत– सौर्यऊर्जा, वायु ऊर्जा, बायो ग्यास आदि क्षेत्रको विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । मुलुकमा विद्युतीय शासन पद्धतिलाई प्रभावकारीरुपमा लागू गर्न विज्ञान प्रविधिको प्रयोग आवश्यक मात्र नभई अपरिहार्य नै देखिन्छ ।

आर्थिक विकासको प्रमुख आधार विश्वविद्यालयको अनुसन्धान

विश्वका विकसित देशहरूको आर्थिक विकासको प्रमुख आधार विश्वविद्यालयको अनुसन्धानबाट प्रविधि विकास र प्रविधिलाई व्यापारीकरण हो । स्मार्ट फोन, दैनिक इन्टरनेट, गुगल, फेसबुक आदि कुनै बेला विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीको अथक अनुसन्धानको प्रतिफल हो । केही प्रविधिले विश्वलाई परिवर्तन गरिदिएका छन् भने  केही मानिसको जीवनका लागि वरदान भएका छन् । वैज्ञानिक अनुसन्धानमा जोड दिएका र त्यसमा सक्दो लगानी गरेका देशले नै आर्थिक समृद्धि हासिल गर्न सफल भएका छन् ।

समस्या

नेपालमा सरकारले लामो समय देखि विज्ञान तथा प्रविधिलाई प्राथमिकता दिँदै आएता पनि यसप्रति ठोस नियम तथा कार्यक्रम प्रस्तुत गर्न नसक्दा योजनाहरु कागजमै सिमित हुने गरेका छन् । यसै गरी विज्ञान तथा प्रविधिमा अपर्याप्त बजेट, प्रयोगात्मक शिक्षाको कमि, स्तरीय प्रयोगशाला र अनुसन्धान केन्द्रको अभाव जस्ता विभिन्न समस्याका कारण नेपाल विज्ञान र प्रविधिमा पछि पर्दै आएको छ ।

सुझाव

नेपालको विज्ञान तथा प्रविधिलाई विकास गर्न सरकारले सर्वप्रथम अनुसन्धानलाई प्राथमिकतामा राखी विश्वविधालय अन्तर्गत हरेक प्रदेशमा स्तरीय अनुसन्धान केन्द्र र प्रयोगशाला स्थापना गर्न जरुरी छ । उक्त अनुसन्धान केन्द्रमा हरेक वर्षका उत्क्रिष्ट ५ योजनालाई सरकारले खर्च व्योहर्ने  गरी अघि बढाउने व्यवस्था गर्न जरुरी छ । यसले विधार्थीलाई नयाँ अविष्कार गर्न प्रोत्साहित गर्नुका साथसाथै व्यक्तिगत मनोबल बढाउन समेत मद्धत गर्छ । यसै गरी नेपाली सैद्धान्तिक शिक्षा प्रणालीलाई परिमार्जन गरी व्यावहारिक तथा प्रयोगात्मक शिक्षा प्रणालीलाई प्राथमिकतामा राखेर पाठ्यक्रम विकास गर्न जरुरी छ ।

कृषि व्यवसायको आधुनिकीकरण तथा आवश्यक उपकरण खरिद गरी कृषकहरुलाई कृषिमा विज्ञान प्रविधिको आवश्यकता बारे प्रशिक्षण र सचेतनात्मक कार्यक्रमको संचालन गर्न जरुरी छ । ट्राफिक व्यवस्थापन, सरकारी कार्य, सुरक्षा, विकासनिर्माणका कार्य जस्ता अन्य सम्पूर्ण सम्भावित क्षेत्रलाई विज्ञान प्रविधि मैत्री बनाउन तर्फ सरकार अगाडी बढ्नु पर्छ ।

मयाङ्क घिमिरे