काठमाडौंः नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या ४ पुगेको छ ।

पछिल्लो समय कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित निको भएर घर फर्किएपछि घर फर्किनेको संख्या ४ पुगेको हो ।

गत चैत २२ गते कोरोना संक्रमण देखिएका कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक उपचारपछि निको भएर घर फर्किएका हुन् ।

उनी १६ दिनको अस्पताल बसाइ पछि आइतबार घर फर्किएका हुन् । पछिल्लो पटक गरिएको दोस्रो र तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्तपालले जानकारी दिएको छ ।

यस्तै, शनिबार मात्रै २ जना कोरोना संक्रमित बिरामी उपचार पछि निको भएर घर फर्किएका थिए ।


काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत काठमाडौंकी १९ वर्षीया किशोरी शनिबार अस्पतालबाट डिस्चार्ज भएकी थिइयन् ।

यस्तै, बाग्लुङ ६५ वर्षीया महिला पनि उपचार पछि निको भएर शनिबार साँझ नै अस्पतालबाट डिस्चार्ज भएकी थिइन् ।

नेपालमा पहिलोपटक गत माघ ९ गते एक जनामा कोरोना संक्रमण देखिएको थियो । उनी पनि करिब २ हप्ता अस्पताल बसेपछि निको भएर घर गएका थिए ।

हालसम्म नेपालमा ३१ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्येका ४ जना भने उपचार पछि निको भएर घर फर्किएका हुन् । २७ जना अस्पतालमा उपचाररत छन् ।


प्रकाशित मितिः आइतबार, वैशाख ७, १८:५७