काठमाडौंः बंगलादेशलाई पराजित गर्दै नेपालले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको फाइनल खेलमा बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
नेपाललाई जित दिलाउन संजोक राई र विशाल राई बी ले एक एक गोल गरे । बंगलादेशका महबुबुर रहमानले एक गोल फर्काए ।
खेलको १८ औं मिनेटमा संजोक राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । त्यसपछि ८३ औं मिनेटमा बंगलादेशका रहमानले गोल गरे । बाँकी समयमा दुवै टोलीबाट गोल नभएपछि नेपाल २–१ ले विजयी भयो ।
।
यससँगै ३७ वर्षपछि नेपालले घरेलु भूमिमा उपाधि जितेको हो । यस अघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो ।
उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । उपविजेता बनेको बंगलादेशले ३ हजार डलर प्राप्त गर्यो ।
नेपालका रोहित चन्द थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । सर्वोत्कृष्ट खेलाडी बनेका रोहितले ५ सय डलर प्राप्त गरे ।
आज भएको फाइनल खेलमा बंगलादेशविरुद्धको खेलेसँगै पूर्व कप्तान विराज महर्जनले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।
प्रकाशित मितिः २०७७ साल चैत १६ गते सोमबार, २०:५८
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook