कैलालीः चुनाव भएको झण्डै तीन महिनापछि नेपाली कांग्रेसले आइतबार प्रदेश ७ को संसदीय दलको नेतामा डा. रणबहादुर रावललाई चयन गरेको छ ।कांग्रेस संसदीय दलको बैठकले रावललाई दलको नेता चयन गरेको हो ।

प्रदेश संसदमा १२ जना सांसद रहेको नेपाली कांग्रेसका सांसदहरुबीच सहमति जुट्न नसक्दा संसदीय दलको नेता चयन हुन सकेको थिएन ।

आइतबार बसेको सांसदहरुको बैठकले रावललाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको सांसद उमादेवी वादीले जानकारी दिइन् ।

कांग्रेसमा कर्णबहादुर मल्ल र भरतबहादुर खड्का पनि रावलसँगै संसदीय दलको नेताका आकांक्षी थिए । आजको बैठकमा खड्का र मल्ल दुवै जनाले रावललाई समर्थन गरेपछि निर्विरोध रुपमा संसदीय दलको नेताको चयन भएको हो ।