काठमाडौः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको राजकीय भ्रमणको दिन नजिकिंदै गर्दा नेपालले पुनः कृषि उपजको निर्यात अवरोध खेप्न थालेको छ । केही समय पहिले नेपालले अदुवा निर्यातमा यस्तै अवरोध खेपेको थियो । भारतमा नेपाली अदुवाको माग राम्रो छ । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला पनि यस विषयमा कुरा उठेको थियो ।

अहिले ल्याब टेस्टलाई लिएर नेपालको चिया भारत निर्यातमा अवरोध सिर्जना गरिएको छ । भारतीय कृषि उपज बिनाअवरोध नेपालमा भित्रिरहन्छ तर नेपाली उपजले समयसमयमा यस्ता अवरोध व्यहोरिरहेको छ । चिया व्यवसायीका अनुसार केही दिन पहिले भारतको कोलकाता भन्सार विभागले सीमा भन्सारलाई ल्याब टेस्ट गरेर मात्र चिया आयात गर्न निर्देशन गरेको थियो ।


। यसअघि सेन्ट्रल फुड लेबोरेटरीले ६–६ महिनामा चियाको ल्याब टेस्ट गर्दै आएको थियो । एक पटक ल्याब टेस्ट गरेपछि ६ महिनासम्म चिया निर्यात गर्न पाइन्थ्यो । अहिलेको भन्सारको आदेशले भने प्रत्येक पटक लयाब टेस्ट गर्नुपर्ने झन्झट बढेको व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । चियाको ल्याब टेस्ट भारतको कोलकातामा मात्र हुन्छ । ल्याब टेस्टको रिपोर्ट आउन दुई सातासम्म लाग्छ । यस्तो अवस्थामा पटकैपिच्छे ल्याब टेस्ट गर्नुपर्ने प्रावधान राख्नु भारतले चिया निर्यातलाई अवरोध गर्ने उद्देश्य नै भएको उत्पादकहरूले बताएका छन् ।

भारतको दार्जिलिङमा चिया उत्पादन हुन्छ तर त्यहाँका चिया बगान धेरै पुराना छन् जसले गर्दा गुणस्तरमा कमी आउँदै गएको छ । नेपालका चिया बगान नयाँ छन् र ती बगानको उत्पादनको गुणस्तर राम्रो छ । यस्तो अवस्थामा भारतीय व्यापारीले नेपाली चियालाई भारतको ब्रान्डमा विश्व बजारमा निर्यात गरिरहेका छन् । नेपालको चियाले आफूहरूलाई घाटा भएको भन्दै दार्जिलिङका चिया उत्पादकले नेपालको चिया भारत आयातमा रोक लगाउनुपर्ने पटक–पटक माग गर्दै आएका छन् । उनीहरूले भारतको ब्रान्डिङमा नेपाली चिया बिक्री गर्दा दार्जिलिङका चिया उत्पादक किसान मर्कामा परेको बताउँदै आएका छन् । भारतीय व्यापारीहरूले नेपाली चिया भारतीय ब्रान्डमा बेचेर विश्व बजारमा गुणस्तर कायम गरिरहेका छन् । नेपाले भने आफ्नो गुणस्तरीय चिया नेपाली ब्रान्डमै विदेशमा निर्यात गर्न सकेको छैन । यसले नेपाली चिया उत्पादक सधै मर्कामा पर्ने गरेका छन् । यस्तो अवस्थामा कृषकले उत्पादन गरेको हरियो पत्ती नेपालका चिया मिलहरूले किन्न छाडेका छन् । यसले चियाको हरियो पत्ती समयमा टिप्न नसक्दा कृषकले ठूलो मार खेप्न बाध्य बन्दै छन् ।

सरकारले नेपालका कृषकको यस्तो कठिनाइ हटाउन ढिला गर्न हुन्न । नेपाल सरकारले भारत सरकारसँग यस्तो समस्या भोगिरहने अवस्थाको अन्त्य गर्न गम्भीर पहल गर्नुपर्छ । अर्को, नेपालको यति महत्वपूर्ण निर्यातजन्य कृषि उपजका लागि विश्व बजार खोज्नु आवश्यक छ ।
भारतले पटक–पटक नेपालका कृषि उपजलाई अवरोध गररहने हो भने उससँगको बढिरहेको व्यापार घाटा कसरी कम हुन सक्ला ? यो अहिलेको चिन्ताको विषय हो । नेपालले भारततिर निर्यात गर्ने वस्तु नै कृषि उपज हुन्, तिनैमा पटक–पटक अवरोध गरिरहने हो भने नेपालको अर्थतन्त्र माथि उठ्न सक्दैन । सरकार यतातिर गम्भीर हुनु आवश्यक छ ।