काठमाडौंः नेपाली यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई मनास्लु वर्ल्ड कलेजले प्लस २ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ ।

चुच्चेपाटीस्थित कलेजले म्यनेजमेन्ट अध्ययनका लागि लिम्बूलाई पूर्ण छात्रबृत्ति प्रदान गरेको हो ।

कलेजका चेयरम्यान गेन्द्र लामा, व्यवस्थापक कुमार मोक्तान र प्रिन्सिपल राजन श्रेष्ठ तथा लिम्बूबीच सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यसै शैक्षिक सत्रदेखि सुरु भएको कलेजमा हाल म्यानेजमेन्टसहित साइन्स, ह्युमिनिटी र लमा पढाईं हुने चेयरम्यान लामाले जनाएका छन् ।

चेयरम्यान लामाले सामाजिक उत्तरदायित्व वहन गर्नुका साथै अभिभावकलाई खेलमा लागेर पनि आफ्ना सन्तानले अनेक क्षेत्रमा अवसर पाउन सक्छन् भन्ने सन्देश दिन हाल लिम्बूबाट यो कदमको सुरुआत गरिएको बताए ।


। उनले इच्छुक भएको खण्डमा यु–१६ का सम्पूर्ण सदस्यलाई पनि पूर्ण छात्रवृत्तिको अवसर दिन कलेज तयार रहेको प्रतिबद्धता जनाए ।

लिम्बूले २०७६ को एसईई सातदोबाटोस्थित लोक स्मृति विद्यालयबाट उत्तीर्ण गरेका थिए । कक्षा ३–४ देखि नै फुटबल खेल्न सुरु गरेका जान झापाको सरामतीका स्थायी बासिन्दा हुन् ।

उनले विभिन्न उमेरसमूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । लिम्बूका पिता पनि भलिबलका पूर्व राष्ट्रिय खेलाडी हुन् ।


प्रकाशित मितिः मंगलबार, भदौ ३०, २०७७, २१:३४