काठमाडौंः नेपाल घरेलु मैदानमा जारी थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको लिगको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो ।

अब नेपाल र बंगलादेशको फाइनल खेल सोमबार हुनेछ ।

पहिलो खेलमा पनि नेपालले किर्गिस्तानको ओलम्पिक टिमसँग गोलरहित बराबरी खेलेको थियो । बंगलादेशले भने किर्गिस्तानलाई १–० ले पराजित गरेको थियो ।

लिग चरणमा नेपालले दुई खेलबाट २ अंक जोडेर दोस्रो स्थानमा रह्यो । शीर्षस्थानको बंगलादेशले २ खेलबाट ४ अंक जोड्यो । किर्गिस्तान भने १ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको थियो ।


विजेताले ५ हजार अमेरिकी डलर हात पार्नेछ ।


प्रकाशित मितिः २०७७ साल चैत १४ गते शनिबार, २०:५१