भक्तपुर: नेपाल पत्रकार महांसघ जिल्ला शाखा भक्तपुरको २२ औं साधारण सभा आज सम्पन्न भएको छ ।

सभामा भक्तपुरका पत्रकारद्वय बरिष्ठ पत्रकार कविर राणा र राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार रत्नकृष्ण श्रेष्ठलाई सम्मान गरिएको छ ।

वरिष्ठ पत्रकार राणालाई स्व. भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कारबाट नगद १० हजार रुपैयाँसहित र राससका पत्रकार श्रेष्ठलाई स्व. मैंयादेवी स्मृति पत्रकारिकता पुरस्कारबाट नगद २ हजार ३ सय रुपैयाँसहित सम्मान गरिएको हो । पत्रकारद्वयलाई महासंघको तर्फबाट वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीले सम्मान गरेका हुन ।


कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष विरहीले सरकारको पछिल्लो कदमले लोकतन्त्र ,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रा धरापमा परेको बताउँदै यसलाई जोगाउन पत्रकारहरुले चनाखो भई लाग्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष दिलिप थापामगरले संविधानको प्रस्तावनामै ग्यारेन्टी गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने सरकारको कदम मान्य नहुने बताए ।

त्यस्तै महासंघका महासचिव रमेश विष्ट महासंघको संस्थागत हित तथा पत्रकारको हकहितको लागि सकृय भूमिका निर्वाह गरिरहेको बताए ।

शाखाका अध्यक्ष पुष्करराज बुढाथोकीले स्वतन्त्र पत्रकारीता गरी पत्रकारीता क्षेत्रलाई गुणात्मक बनाउनुपर्नेमा जोड दिएका थिए ।

साधारण सभाको बन्दसत्रमा शाखाका सचिव कृष्ण प्रसाद नेपालले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष मोहन बल्लले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

कार्यक्रमको बन्दसत्रले महासंघको संस्थागत विकास र पत्रकारको हकहित र मर्यादित पत्रकारीताका लागि भावी कार्यदिशा तय गरिएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ १० गते शनिबार, १६:२६