झापाः विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १-० ले पराजित गर्दै नेपाल पुलिस क्लब दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

खेलको मंगलबार भएको पहिलो सेमिफाइनलको ३८ औं मिनेटमा निरकुमार राईले पुलिसका लागि निर्णायक गोल गरेका थिए। सशस्त्रका गोलकिपर बिट भइसकेको अवस्थामा हेडमार्फत उनले सो गोल गरेका थिए ।

खेलको पहिलो हाफमा एपिएफले फितलो प्रदर्शन गरेको थियो। टोली बललाई पोस्टको दिशा दिन चुकेको थियो। पुलिसका खेलाडीहरूको आक्रामक खेलसामु पहिलो हाफमा सशस्त्रले कुनै गतिलो प्रहार गर्न सकेन।

तर दोस्रो हाफमा एपिएफले सम्हालिएको प्रर्दशन गरेको थियो। एपिएफका धेरै प्रहार पुलिसका गोलरक्षक किरण चेम्जोङले सहजै बचाएका थिए।


खेलमा एक मात्र गोलकर्ता निरकुमार राई म्यान अफ दी म्याच घोषित भए। उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल त्रिभुवन आर्मी र मनाङ मस्र्याङ्दीबीच आज हुनेछ ।