काठमाडौंः नेपाल बंगालादेश बैंक लिमिटेडको २६ औं वार्षिक साधारण सभा आज ZOOM Webinar मार्फत् भिडियो कन्फेरिन्सङद्वारा सम्पन्न भएको छ ।

बैंकको सञ्चालक समितिका अध्यक्ष ए.आर.एम नजमुस शकिबले ZOOM Webinar मार्फत् नै अध्यक्षता गरेको उक्त कार्यक्रममा सञ्चालकहरु इन्द्र बहादुर थापा, मुकुन्दनाथ ढुंगेल, मोहमद साहआलम सरवर, दीपक कार्की, कमरुननहर अहमदका साथै प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानालगायत बैंकका उच्च पदस्थअधिकारीहरू, लेखापरीक्षकहरु, कानुनी सल्लाहकार एवम् नियमनकारी निकायबाट आएका अतिथिहरुको उपस्थिति रहेको थियो ।

बैंकका कम्पनी सचिव विश्वप्रकाश पौडेलले दिएको जानकारी अनुसार उक्त साधारण सभामा बैंकको चुक्तापुँजीको झण्डै ५५% भन्दा बढी शेयरधनीको प्रतिनिधित्व हुने गरी २५ जना मात्र शेयरधनीको भौतिक उपस्थिति रहेको थियो भने ९० जनाभन्दा बढी शेयरधनीहरु ZOOM Webinar मार्फत् जोडिनुका साथै बैंकको अफिसियल फेसबुक पेजबाट पनि शेयरधनीहरु सो कार्यक्रममा जोडिएका थिए ।


उक्त साधारणसभाले आ.ब. २०७६/०७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको लेखापरीक्षण प्रतिवेदन सहितको आ.व. २०७६/०७७ को वार्षिक वित्तीयविवरणहरु पारित गर्नुका साथै बैंकका सहायक कम्पनीहरु नेपाल बंगलादेश क्यापिटल लिमिटेड र एनबीबीएल सेक्युरिटिज लिमिटेड सहितको आ.व. २०७६/०७७ को एकीकृत वार्षिक वित्तीयविवरण पारित गरेको थियो । बैंकले आ.ब. २०७७/७८ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिश गरिए बमोजिम लेखापरीक्षक सुधिर कुमार शर्मा (S&S Associates, Chartered Accountants) लाई पुनःनियुक्ति गरेको छ ।

आ.ब. २०७६/०७७ को मूनाफा रकमबाट २०७७ आषाढ मसान्तमा कायम रहेको चूक्तापूँजीको २.४२ प्रतिशत (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) का दरले नगद लाभांश वितरण गर्न स्वीकृति दिनुका साथै ६ प्रतिशतका दरले बोनस शेयर जारी गर्ने निर्णय समेत सर्वसम्मतिबाट पारित गरेको थियो । साथै बैंकको साधारण सभाले प्रबन्धपत्रमा संशोधन गरी अधिकृत पुँजी १५ अरब पुर्‍याउने र जारी तथा चुक्ता पुँजीमा बोनस शेयर जारी भएअनुरुप समसामयिक संशोधन गर्ने प्रस्ताव समेत सर्वसम्मतिबाट पारित भएको छ ।

शेयरधनीहरुले उठाएका विभिन्न जिज्ञासा तथा सुझावहरूका सम्बन्धमा अध्यक्षको अनुमतिले बैंकका प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाले जवाफ दिएका थिए ।


प्रकाशित मितिः २०७७ साल पुस २६ गते आइतबार, १७:२८