काठमाडौंः नेपाल भलिबल संघले कोरोना महामारीका कारण समस्यामा परेका खेलाडीलाई राहत वितरण सुरु गरेको छ ।

संघले कोरोना महामारीपछि झण्डै ६ महिनापछि राहत वितरण समिति गठन गरी पहिलोपटक राहत वितरण गरेको हो ।

संघले पहिलो चरणमा तीन खेलाडीलाई राहत वितरण गरेको हो । संघले पहिलो चरणमा महिला राष्ट्रिय भलिबल टोलीका सदस्यद्वय सलिना श्रेष्ठ र उषा भण्डारी तथा बिच भलिबलका राजु बिकलाई राहत सहयोग गरेको हो ।

कोरोना महामारीबाट अन्य सबै क्षेत्रजस्तै खेलकुद क्षेत्र पनि प्रभावित छ । खेलकुद गतिविधि नहुँदा खेलाडी र उनका परिवार समस्यामा पर्न थालेका छन् ।

सोही अवस्थालाई मध्यनजर राख्दै संघले राहत वितरणको कार्यक्रमलाई अघि बढाएको हो ।


राहत समितिका संयोजक तथा नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्के तथा संघका सचिव तथा समितिका सह–संयोजक मनविर छन्त्यालले सलिनाको निवास दक्षिणकाली नगरपालिका टौदह र उषाको निवास टोखा नगरपालिका नयाँ बसपार्कमा पुगेर राहत हस्तान्तरण गरेका हुन् । यस्तै संघले गृह जिल्ला बाग्लुङमा रहेका बिच भलिबलका राजु विकलाई उनकै खातामा आर्थिक सहयोग पठाइसकेको संयोजक मास्केले बताइन् ।


प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७, २१:३७