भारत विश्वमा दोश्रो सबैभन्दा धेरै जनसंख्या देश हो र विविधताको कारण सबैभन्दा धेरै सुरक्षा चुनौती पनि भएको देश हो । पाकिस्तानको सिमानामा निरन्तर समस्या छ र अन्यत्रबाट पनि घूसपैठ भइरहन्छ । भारतले नेपालबाहेक सबैतिर सीमा बन्द गरेको छ । भुटानले पनि परिचयपत्रबिना कुनै भारतीयलाई प्रवेश दिंदैन । यसरी नेपालसँग मात्र खुला सिमाना राख्नुको पछाडि उसलाई अनेक फाइदा छन् र नेपाललाई बेफाइदै बेफइदा ।

भारतजस्तो देशले सुको–चौअन्नीको हिसाब नगरी सिमाना खुला राखेको होला भनी अनुमान गर्नु बेकार छ । भारतले दर्जनभन्दा बढी फाइदाको लिस्ट देखेर मात्र नेपालको सिमाना खुला राखेको हो । उसले नेपालको सिमानालाई कामधेनु मान्दछ ।


। तैपनि नेपालले सीमा कडाइ गरेर भिसा प्रणली लागू गर्न चाहेमा भारतले विरोध गर्दैन किनकि सिमानामा कडाइ हुनु अन्तत्वगत्वा उसका लागि पनि दीर्घकालमा नराम्रो पक्कै हुन्न । यो प्रणाली कडाइका साथ लागू भएमा नेपाल २ वर्षभित्र चमत्कारिक रुपमा आत्मनिर्भरतातर्फ जानेछ । नेपालका सरकार भने जहिले पनि कठिन निर्णय गर्न डराउँछन् । सायद अहिलेसम्म नेपाल सरकारबाट यस विषयमा सोचिएको पनि छैन र कसैले कुरा उठाएको पनि छैन । अब नेपालले कुनै प्रकारको बहाना नबनाई सिमाना बन्द गर्नुपर्दछ ।

भारतको सिमाना जमिनसँग ७ वटा देश र समुन्द्रसँग पनि ७ वटै देश जोडिएका छन् । भारतको सबैभन्दा लामो सीमा बंगलादेशसँग जोडिन्छ । विश्वको पाँचौं सबैभन्दा लामो भूमि सिमाना हो, जुन ४१५६ किलोमिटर लामो छ । त्यसपछि चीनसँग ३३८० किलोमिटर लामो सिमाना छ भने पाकिस्थानसँग ३३२३ किमि लामो सिमाना रहेको छ । यसैगरी नेपाल–भारतबीच १७५८ किलोमिटर, म्यानमारसँग १६४३ किमि, भुटानसंग ६९९ किमि र अफगानस्थानसँग १०६ किमि सिमाना जोडिएको छ । सीमा सुरक्षामा सबैभन्दा बढी चुनौती पाकिस्तानसँग छ । त्योबाहेक अन्य सबै देशसँग भारतले भिसा प्रणाली लागू गरेको छ ।

भारतले भुटानसँगको सीमा खुला राख्नुको कारण त भुटानका अधिकांश जनताको अनुहारबाट चिन्न सकिने, जनसंख्या थोरै भएकाले भुटानका धेरै मानिस भारतमा आउने आवश्यकता पनि नभएको र भुटानको परराष्ट्र मामिला भारतको जिम्मामा रहेको भन्ने कारणले पनि सिमाना खुला छाडेको हुन सक्छ । भारतीय परराष्ट्र नीतिमा नेपाल र भुटानको सिमा खुला राख्नुको कारण ती दुवै देशबाट खासै ठूलो सुरक्षा चुनौती नभएको भन्ने लेखिएको छ । वास्तवमा त्यो देखाउने दाँत मात्र हो । भारतले नेपालसँगको सिमाना खुला राख्नुको पछाडि भारलाई ठूलो आर्थिक, सामरिक तथा यौनसामजिक लाभ छ ।

माथि भनिएका ३ वटा कुराहरुमा पार्इ–पार्इ हिसाब गरेर मात्र भारतले नेपालको १७५८ किमि भूमि खुला छाडेको छ । नेपालीहरुलाई के भ्रम पारिएको छ भने खुला सिमाना राख्नाले रोटी–बेटीको सम्बन्ध कायम भएको छ, हाम्रो संस्कृति मिलेको छ, धार्मिक पर्यटनको गन्तव्य मिलेको छ । तिमीहरुलाई रोजगारीको अवसर मिलेको छ । आवरणका रुपमा नोपलले के–के पाएको जस्तो महसुस गराइएको छ तर वास्तवमा भारतले निम्न फाइदा लिनका लागि सिमाना खुला राखेको हो ।

घरेलु कामदार आपूर्ति

भारतले नेपालबाट ज्यादै न्यून शुल्कमा घरेलु कामदार पाइरहेको छ । इमान्दार नेपालीहरुबाट घरको काम गराउन पाइने भएकाले प्रवेशाज्ञाको व्यवस्था गरेमा त्यहाँ उमेर खुलाउनुपर्दा बालश्रमको आवाज उठ्ने भएकाले गुपचुप रुपमा लगभग ५०–६० हजार बालश्रमिक तथा घरेलु कामदार कौडीको मोलमा उपभोग गर्नका लगि पनि नेपालसँग भिसा प्रणाली भारतका लागि आवश्यक छैन ।

सस्तो कामदार आपूर्ति

भारतीय उद्योग , व्यापार, कम्पनी, यातायात लगायत विभिन्न ठाउँमा नेपाली कामदारहरु उपल्ब्ध छन् । जसले अर्को देशका नागरिक भएकाले कुनै दंगा, हडताल, विरोध गर्दैनन् र उनीहरुबाट धेरै परिश्रम लाग्ने काम गराउन सकिने अवस्था छ । यदि भिसा लगाएर लैजाने हो भने त्यसको अभिलेख जताततै देखिन्छ, पछि उनीहरुले भारतीयले सरह तलब सुविधा माग्न सक्छन् । नागरिकताकै हक खोज्न सक्दछन् भन्ने डरका कारण पनि भारतले सिमानामा नेपालीसँग भिसा माग्दैन । सुरक्षा चेक गरेर भित्र जान दिन्छ ।

यौनकर्मीको आपुर्ति

विगत लमो समयदेखि नै नेपाली चेलीबेटी बेचिने गरेको तथ्य कसैबाट लुकेको छैन । निकै न्यून शुल्कमा नेपालीहरु भारतीय यौनबजारमा बिकेको तथ्य विदितै छ र पनि नेपाल सरकार विगतदेखि आज पर्यन्त कानमा तेल हालेर बसेको छ । यस्ता यौनकर्मी भारतमा भिसा लिएर तथ्यांकको आधारमा लैजानु दीर्घकालका लगि खतरा हुने भएकाले भारतले भिसा लागू गर्न चाहँदैन । नेपाल सरकारले यस कुरालाई भारतको कृपा सम्झन्छ । यस्तो कटु अन्तरधारको बीच हामीले २१ औं शताब्दी सुहाउँदो जनव्यवस्थापन गर्नका लागि सीमा व्यवस्थापन नगर्नुको फाइदा भारतले लिइरहेको छ ।

भारतीय सिमानाका व्यापारीको जीविकोपार्जन

नेपालको सीमा क्षेत्रका लाखौं जनता नुनदेखि सुनसम्म किन्नका लागि सीमापारि भारतीय बजारमा धाउँछन् र परिवार तथा अन्यलाई चाहिने सामग्रीहरु पनि लिएर आउँछन् । पशुपतिनगरदेखि गढ्डा चौकीसम्मका नाकामा बस्ने लाखौं भारतीय व्यापारीको जीवन नेपालको व्यापारबाट समृद्ध भइरहेको छ । यदि भिसा प्रणाली लागू हुने हो भने लाखौं भारतीयको रोजीरोटी गुम्ने भएकाले पनि भिसाका बारेमा भारतले उच्चारणसमेत गर्न चाहँदैन ।

नेपाललाई परनिर्भर बनाई आफ्नो निर्यात बढाउन

नेपालमा सीमा कडा गर्नासाथ नेपालीहरुले उद्योगधन्दा, कृषिउत्पादन, तरकारी उत्पादन, फूल उत्पादन , बाख्रा उत्पादनका विषयमा नेपालीले विकल्प सोच्न थाल्छन् र अन्तमा भारतको निर्यात व्यापार घट्ने हुनाले पनि भारतले सजिलोसँग सामान उपलब्ध गराई नेपाललाई सधै आश्रित राष्ट्र बनाएर आफ्नो व्यापार बढाउनु पनि उसको लक्ष्य हो । यस्तो गर्न सामुद्रिक मार्ग भएका देशमा सम्भव हुँदैन । नेपाल भूपरिवेष्ठित भएकाले पनि यसरी खुला सिमाना छाड्नु भारतलाई फाइदा जनक छ ।

रकम स्थानान्तरणमा सहजता

भारतमा रेमिट्यान्स पठाउने देशमध्ये नेपाल सातौं नम्बरमा पर्दछ । नेपालका ठूला व्यापारी जो भारतीय मूलका छन् उनीहरुले आफ्नो नाफा खुला नाका प्रयोग गरी भारतमै लगेर जम्मा गर्छन् । यदि प्रवेशाज्ञा लागू गर्ने हो र नेपालको सीमाबाट भारतीय बैंकमा पैसा जम्मा गर्न नपाउने हो भने । नेपालबाट कति पुँजी बाहिर गयो भन्ने हिसाब आउने भएकाले यसरी खुला सिमाना राखिएको छ । यसले गर्दा सामान्य अवस्थामा बाहेक नेपालबाट कति पुँजी बर्हिगमन भयो भन्ने जानकारी नै हुन सक्दैन । नेपालमा पनि दिनहुँ कारोबार हुन्छ र करोडौंको व्यापार हुन्छ तर नेपालका राष्ट्रिय पुँजीपतिहरु कहिल्यै धनी भएको देख्न पाइँदैन । यसको कारण नेपालमा भएको कारोबारको अधिकांश रकम खुला सिमानाबाट बाहिर जानु पनि हो ।

भाषिक साम्रज्य बनाउन

पछिल्लो दिनमा नेपालको तराईमा मैथली, भोजपुरी अवधी लगायतको दाँजोमा हिन्दी भाषा बोल्नेको संख्या बढ्दै छ । यस्तै भारतीय चलचित्रको खुला प्रदर्शनले पनि हिन्दी भाषाको विस्तार नेपालमा क्रमिक रुपमा बढेको पाइन्छ । यस कारणले हिन्दी भाषा प्रचलनको बेग बढ्दै गएको छ । यसलाई निरन्तरता दिनका लागि पनि भारतले खुला सिमानाको विपक्षमा वकालत गरिरहेको हुँदैन ।

यी बवविध कारणले भारतले नेपाली सिमामा कडाइ गर्न नचाहेको हो तर यो नेपालका लागि घातक छ । नेपाल सानो देश हो । यसले आफ्नो सम्पदा र सम्पत्ति वर्तमानमा प्रयोग गर्न नसके पनि भविष्यका सन्ततिका लागि सुरक्षित राखिदिन जरुरी छ । नेपालको संरक्षण नेपालीको नितान्त नैतिक दायित्व हो ।

सिमाना बन्द भएमा २–४ रुपैयाँ महँगो पर्ला तर नेपालीले नै व्यापार गर्न पाउनेछन् । केही थप मानिस स्वरोजगार हुनेछन्। योभन्दा पनि नेपालीको स्वावलम्बनको यात्रा सुरु हुने हुनाले नेपालले अब कुन मूल्यमा सीमा व्यवस्थापनमा अलमल गर्नु हुँदैन ।

  • रामप्रसाद गौतम

प्रकाशित मितिः सोमबार, असोज ८, १४:०३