काठमाडौंः नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सभाको ४८ औं महाधिवेशन असारको अन्तिम सातामा हुने भएको छ ।

जेठ ३० गतेदेखि ३२ गतेसम्म बोलाइएको नेपाल रेडक्रसको महाधिवेशन बन्दाबन्दीको कारण हुन नसक्ने परिस्थिति परेकाले असारको अन्तिम सातालाई अर्को मिति तोकिएको हो ।

जेठ २७ गते बसेको रेडक्रसको केन्द्रीय कार्यसमितिले असार २५ देखि २७ गतेसम्म केन्द्रीय सभाको ४८ औं अधिवेशन काठमाडौं उपत्यकाभित्र हुने गरी अर्को मिति तोक्न अध्यक्ष संजीव थापाबाट यस अघि गरिएको निर्णयलाई अनुमोदन गरेको हो ।

यस निर्णयसँगै रेडक्रसको विधानको दफा ६७ बमोजिम केन्द्रीय कार्यसमितिको अधिकार प्रयोग गरी केन्द्रीय कार्यसमितिले तीन महिना भित्र निर्वाचन हुने गरी एक भन्दा बढी पटक पनि मिति तोक्न सक्ने व्याख्या गरेको छ ।


यदि बन्दाबन्दीको कारण सभा सम्मेलन असारमा पनि खुला नभएमा र केन्द्रीय कार्यसमितिको बैधता कायम राख्न बाधा परेमा मौजुदा विधानको दफा ६८ बमोजिम बन्दाबन्दी फुकुवा भई सभा सम्मेलन गर्न खुला भएको मितिले ३० दिन भित्र निर्वाचन सहितको महाधिवेशन बर्तमान कार्यसमितिले नै सम्पन्न गर्ने गरी संस्थागत बाधा अड्काऊ फुकाउने निर्णय समेत गरेको छ ।

यस सन्दर्भमा आगामी महाधिवेशन र केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्न कुनै कानुनी बाधा आएमा कानुनी उपचारमा जान पनि छलफल र निर्णय गरिएको छ ।

२०७६ वैशाख २३ देखि २५ गतेसम्म सुनसरीमा आव्हान गरिएको ४८ औं महाधिवेशनको सम्पूर्ण तयारी भै सकेको र निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको अवस्थामा आकस्मिक रुपमा वैशाख २२ मितिको जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशनात्मक पत्र आइपुगी संस्थाको महत्वपूर्ण महाधिवेशन र निर्वाचन स्थगित भएको थियो । त्यस पश्चात विभिन्न कारणले महाधिवेशन र निर्वाचन हुन सकेको छैन ।


प्रकाशित मितिः मंगलबार, असार २, २०७७, १९:४१